नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको खेल स्थल र खेल तालिका सार्वजानिक

पोखरा । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको खेल स्थल र खेल तालिका सार्वजानिक भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने प्रतियोगिताको खेल तालिकासँगै पहिलोपटक डिजिटिल प्रविधिको प्रयोग समेत गरिने भएको छ ।
बुधबार पोखरामा पत्रकार सम्मेलन गर्दै खेल तालिका तथा नवौं खेलकुद सम्बन्धि एप तथा वेवसाइटको सार्वजानिक गरिएको छ । नेपाली खेलकुदको इतिहासलाइ आधुनिक प्रविधिसँग जोड्ने हेतुले वेवसाइट तथा एप अघि सारिएको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले जानकारी दिए । उनले आफु मन्त्री भएसँगै पहिलो काम भनेकै नवौं खेलकुद गराउने चाहाना भएअनुसार आज पुरा हुन लागेको बताए । उनले गण्डकी प्रदेशमा हुने खेलकुद अब कुनै वाहानामा नरोकिने समेत बताए । उनले खेल तालिका सहित प्रविधिलाइ जोडेर नवौं खेलकुदलाइ लगेको बताए । ‘अब हामीले नवौं राष्ट्रिय खेलकुद सानदार तरिकाले सम्पन्न गर्न सक्छौ । विगतमा कागजी तरिकाले रिपोर्ट बनाउने बाध्यतालाइ हटाउँदै अब प्रविधिसँग जोडेका छौँ’ उनले भने,‘हामीले सबै कुरालाइ सहज बनाउँदै लैजाने प्रयास गरेका छौँ ।’उनले यस अघि प्रदेशमा भएका खेलाडी छनोट तथा बन्द प्रशिक्षणका बारेमा आएका आलोचनाका बारेमा धारणा राख्दै खेलकुदमा नयाँ ऐन आएसँगै परिवर्तन भएको स्पष्ट पारे । उनले प्रदेशहरुले सुरुवातमा खेल छनोटबारेमा नबुझेपनि आफुहरुले समन्वय तथा सहकार्य गरी सबै कुरा स्पष्ट पारेपछि प्रदेशले आफ्नो तरिकाले तयारी सुरु गरेको बताए । यस अघि राखेपले नै जिल्ला देखि अञ्चल छनोट गरेपनि नयाँ ऐनले प्रदेशले नै सबै गर्ने व्यवस्था भएको सुनाए । ‘विगतमा राखेपले नै छनोट गर्ने अवस्था थियो । यो नयाँ ऐन बनेपछिको पहिलो प्रतियोगिता हो । संघीयताको पनि पहिलो खेल हो’ उनले भने, ‘प्रदेशले सुरुमा नबुझेका कारण समस्या आएको हो । अहिले सबे प्रदेशले बुझिसके हामीले त सानो सहयोग मात्रै गर्ने हो बाकिँ काम त प्रदेशकै आन्तरिक स्रोतबाट तयार गर्ने हो ।’
राखेप सदस्य सचिव टंकलाल घिसिङले यो प्रतियोगिता एशियन च्याम्पियन सिप र ओलम्पिकका लागि खेलाडी छनोटको एक चरण रहेको बताए । उनले नवौं प्रतियोगितामात्रै नभइ राष्ट्रिय टिममा प्रवेश गर्ने महत्वपूणर् मार्ग रहेको सुनाए । उनले यो प्रतियोगितामा खेलाडीको अनलाइन दर्ता गराउनु खेलकुदमा नयाँपन रहेको बताए । उनले अनलाइनबाट दर्ता गराउँदा सहज तरिकाले कुन खेलाडी कति वर्षको र कुनकुन खेल खेलेको भन्ने विवरण राख्न निकै सजिलो हुनुका साथै एक किसिमको खाका बनाउने रणनीति रहेको बताए । उनले राखेपले सार्वजानिक गरेको एप र वेवसाइट खेलकुदको जिवित इतिहास रहेको सुनाए ।
यस्तै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता प्राविधिक उपसमितिका सचिव हिमाल दाहालले गण्डकी प्रदेशका ११ जिल्लामा नै खेल गराउने प्रयास भएपनि सम्भव नभएको बताए । उनले आफुहरु बाध्यात्मक परिस्थितिका कारण पोखरा केन्द्रित भएर खेल खेलाउनु पर्ने अवस्था आएको सुनाए । पूर्वाधार निमाणर् सम्पन्न नभएकाले आफुहरुले पोखरामा ३६ खेलका ३६ इभेन्ट गराएको उनले बताए ।
राष्ट्रिय खेलकुद प्रतियोगितामा यो सबैभन्दा बढी खेल समावेश भएको प्रतियोगिता रहेको राखेप सदस्य तथा खेलस्थल उपसमिति संयोजक राजेश गुरुङले जानकारी दिए । उनले आफुहरुले प्रदेशका सबै जिल्लामा प्रतियोगिता गराउन चाहेपनि त्यो सम्भव हुन नसकेकोमा दुःख लागेको बताए ।
गण्डकी प्रदेशमा आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । जसको काउन्डाउन समेत सुरु भइसकेको छ । ३६ खेलका ४६ इभेन्ट मध्ये पुरुष क्रिकेट र सुटिङ काठमाण्डौंमा हुनेछ । पुरुष क्रिकेट भने अहिले चलिरहेको छ । यस्तै म्याग्दीमा महिला भलिबल, नवलपुरमा महिला तथा पुरुष सेपाक्टाक्रो र कुस्ती हुनेछ । पर्वतमा कराते, बागलुङमा आइ.टि.एफ तेक्वान्दो र गोर्खामा बुद्धिचाल प्रतियोगिता हुनेछ ।