पोखरा, १ असोज । पोखरामा आयोजित दोस्रो अन्तर लायन्स फुटसल प्रतियोगिताको उपाधि लायन्स क्लब अफ पोखरा गार्ड़ेन सिटीले हात पारेको छ ।
नदिपुर स्थित एबिसी फुटशलमा शनिवार सम्पन्न फाइनल खेलमा आयोजक क्लब लायन्स क्लब अफ पोखरा ग्लोबल लेक सिटी ‘बी’ लाई ट्राईबेकरमा ३–२ को गोलअन्तरले पराजित गर्दै पोखरा गार्ड़ेन सिटीले उपाधि सहित नगद ४० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र पाएको हो । उसले यस अघि लायन्स क्लब अफ पोखरा गोल्डेन चौतारी, पोखरा डाउन टाउनको चुनौती पन्छाउँदै फाइनलमा भिडेको हो ।
उपविजेता लायन्स क्लब अफ पोखरा ग्लोबल लेक सिटीले २० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पायो । प्रतियोगितामा सर्वाधिक गोलकर्ता लायन्स क्लब अफ पोखरा गार्ड़ेन सिटीका हिमाल गुरूङ, म्यान अफ दि म्याच गार्ड़ेन सिटी कै बिशन पहारी, बेस्ट किपर ग्लोबल लेक सिटीका राजेश बाबु केसी, बेस्ट प्लेयर गार्ड़ेन सिटीका समिर रायमाझी घोषित भई ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए ।
‘आई विलिभ ईन टिमवर्क’ भन्ने नाराका साथ पोखरा स्थित विभिन्न डिष्ट्रिक्टका लायन्स क्लबहरू बीच आपसी सद्भाव कायम गर्ने उद्देश्यले लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको सशक्त क्लब, लायन्स क्लब अफ पोखरा ग्लोवल लेक सिटीले आयोजना गरेको उक्त प्रतियोगितामा १५ टिमले भाग लिएको प्रतियोगिता संयोजक सन्तोष कुमार श्रेष्ठले जानकारी दिए ।
विजयी टिमलाई समापन समारोहमा प्रमुख अतिथि लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका क्याविनेट ट्रेजरर सूर्यनारायण बराल, विशिष्ट अतिथि डिष्ट्रिक्ट मिडिया चिफ टंकराज अधिकारी, कार्यक्रम संयोजक एवं डिष्ट्रिक्ट ट्री प्लान्टेसन चिफ सन्तोष कुमार श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरेका थिए ।
यसैबीच, शनिवार नै सम्पन्न सेमीफाइनल खेलमा लायन्स क्लब अफ पोखरा ग्लोबल लेक सिटी ‘बी’ ले लायन्स क्लब अफ पोखरा वरपिपल चौतारीलाई, पोखरा फरक अभियानले सुन्दर नगरीलाई, पोखरा ड़ाउनटाउनले ग्लोबल लेक सिटी ‘ए’ लाई र लायन्स क्लब अफ पोखरा गार्ड़ेन सिटीले गोल्डेन चौतारीको टिमलाई पराजित गर्दै अन्तिम चारमा जानलाई रोकेका थिए । अन्तिम दुईको लागि भएको खेलमा आयोजक क्लब ग्लोबल लेकसिटी ‘बी’ ले ९–३ को फराकिलो गोल अन्तरले फरक अभियानलाई र गार्ड़ेन सिटीले डाउन टाउन ६–१ ले पराजित गरी फाईनलमा प्रवेश गरेका थिए ।
दुईदिनसम्म चलेको उक्त प्रतियोगिता लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलले सुक्रवार एक कार्यक्रमका विच उद्घाटन गरेका थिए । खेलमा विभिन्न क्लबहरूको सहभागिताले खेल रोमाञ्चक बनेको सहभागीले बताएका थिए । एक टिममा ५ खेलाडी रहने उक्त प्रतियोगिता २० मिनेटमा खेलाइएको थियो भने फ़ाईनल खेल २५ मिनेट खेलाईएको थियो ।