20Shares

काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा काभ्रेपलाञ्चोकमा निर्माण हुने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको भूमि पूजन गरिएको छ।

नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शुक्रबार काभ्रेपलाञ्चोकमा प्रतिष्ठान निर्माणका लागि संयुक्त रुपमा भूमि पूजन गरेका हुन्।

यस परियोजनाको शिलान्यास सन् २०१४ नोभेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणका आएका बेला तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र मोदीले संयुक्त रूपमा गरेका थिए ।

भारत सरकारको नेपाली रुपियाँ हजार करोड अनुदानमा निर्माण हुने यो परियोजना भारत सरकारको सहयोगमा नेपालमा निर्माण भएका ठूला परियोजनाहरु मध्येकै एक हो ।

यो कार्यक्रम भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “æIndia@75आजादीका अमृत महोत्सव” कै एक हिस्साको रुपमा रहेको दूतावासले जनाएको छ।

यस परियोजनाको कूल क्षेत्रफल करिब ८४ एकड रहकोमा क्याम्पस भवनको निर्माण १.१० लाख वर्गमिटरको क्षेत्रफल हुनेछ । स्थानीय वास्तुकला र आधुनिक प्रविधिको सम्मिश्रण गरी प्रतिष्ठानका भवनहरुको निर्माण गरिनेछ ।

दिगो विकास मापदण्ड अनुरुप निर्माण हुने यो परियोजना वातावरण एवम् उर्जामैत्री हुनेछ । आधुनिक सेवा सुविधा सहित निर्माण हुने यस संरचनाले नेपाल प्रहरीलाई अत्याधुनिक प्रशिक्षण पूर्वाधार प्रदान गर्नेछ ।

कार्यक्रममा बोल्दै भारतीय राजदूत श्रीवास्तवले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको कार्यान्वयन टोलीले सबैको साथ र सहयोगमा निर्धारित समय भित्रै निर्माण कार्य सम्पन्न गर्ने विश्वास व्यक्त गरे । साथै उनले भारत र नेपालबीचको घनिष्ठ सम्बन्धको अर्को महत्वपूर्ण कोशेढुङ्गाको रुपमा रहेको यस प्रतिष्ठित परियोजनाको सफल कार्यान्वयनका लागि भारत सरकारको पूर्ण सहयोग रहने बताएका छन् ।

यस परियोजनाको निर्माण र द्विपक्षीय सहकार्य तथा विकास साझेदारी अन्तर्गत भइरहेको निरन्तर सहयोगका लागि गृहमन्त्री खाणले भारत सरकारलाई धन्यवाद व्यक्त गरेका थिए ।

भारत र नेपालबीच बहुआयमिक तथा बहुपक्षीय विकास साझेदारी रहेको र यसले दुई देशका जनताबीच रहेको निकटतालाई दर्शाउने भारतीय राजदूतावासले जनाएको छ।

20Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected