अन्नपूर्ण, कास्की । कास्कीको अन्नपूर्ण-२ स्थित ढिकुरपोखरीमा नेपालीहरूको महान् पर्व बडा दशैँको शुभ अवसरमा दोस्रो दशैँ मेला सुरु भएको छ । ढिकुरपोखरी युबा क्लब अन्नपूर्ण-२, को आयोजनामा माछापुच्छ्रे मा बि को खेल मैदानमा आइतवारदेख़ि मेला भएको हो ।
मेलाको उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष विष्णु बहादुर केसीले यस क्षेत्रका युवाहरूको क्षमता विकासमा ढिकुरपोखरीका युवा क्लबको महत्वपूर्ण योगदान रहेको बताएका छन् । उद्घाटन कार्यक्रममा अन्नपूर्ण गाउँ पालिका वडा नं २ का वडाध्यक्ष पिताम्बर भण्डारीले दशैँ मेला, तीज मेला अन्नपूर्ण गाउँ पालिकाको पहिचान भएको कुरामा जोड दिए ।
मेलामा सेवेन ए साईड फुटबल, महिला फुटबल, अन्नपूर्ण स्टार नृत्य लगायतका खेलहरू सञ्चालन हुने क्लबका सचिव रमेशराज भण्डारीले जानकारी दिए ।
तिन दिन सम्म संचालन हुने मेला अन्तर्गतको सेवेन ए साईड फ़ुटवल प्रतियोगितामा पालिका भित्रका २२ वटा टिमको सहभागिता रहेको छ । आइतवार सम्पन्न पहिलो चरणको खेलमा ८ खेल सम्पन्न भएका छन । प्रथमले ५० हजार र दोस्रोले २५ हजार ५ सय ५५ साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
मेलामा अन्नपूर्ण स्टार (डान्स) प्रतियोगिता पनि हुनेछ । अन्नपूर्ण गाउपालिका भित्रकाको मात्रै सहभागिता रहने उक्त प्रतियोगिताको पुरस्कारमा प्रथम ७ हजार, द्वित्तियले ४ हजार र तृत्तियले ३ हजार सहित साथमा प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष वीरेन्द्र गुरूङले जनाए ।