27Shares

पोखरा, १९ असोज । भरतपोखरी विकास मञ्चद्वारा विजयादशी, दिपावली लगायतका चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान एवम् सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
पोखरा महानगरपालिका वडा नं ३३ को कार्यालयको सभा कक्षमा आयोजित कार्यक्रममा शुभकामना आदानप्रदानसँगै दुई जना ज्येष्ठ नागरिक र एक जना स्रष्टालाई सम्मान गरिएको हो ।
ज्येष्ठ नागरिकद्वय ९२ वर्षीय टीकाराम पौडेल र ८७ वर्षीय मैनादेवी पौडेल क्षेत्री तथा स्रष्टा डा.अशोक थापालाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र भरतपोखरी विकास सञ्चका अध्यक्ष डिल्लीराम बरालले सम्मान गर्नुभएको हो ।
कार्यक्रममा महानगरप्रमुख आचार्यले विकासका लागि सबैको एकतावद्ध प्रयास आवश्यक हुने बताउँदै भरतपोखरीको विकासका लागि विभिन्न योजना अघि सारिएको बताउनुभयो । भरतपोखरी र आसपासको क्षेत्रको विकासका लागि मञ्चले पुलको काम गर्ने बताउँदै सडक विस्तार लगायतका योजनाको सफलताका लागि सम्बद्ध पक्षसँग छलफल गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय चाडपर्वले सबैमा सुख शान्ति र समृद्धि ल्याउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
भरतपोखरी विकास मञ्चका अध्यक्ष डिल्लीराम बरालले भरतपोखरीको समग्र विकासका लागि यो वा त्यो नभनी लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो । भरतपोखरी विकास मञ्च सबैको साझा मञ्चका रुपमा रहेको बताउँदै उहाँले संस्था यहाँका हरेक सामाजिक गतिविधिमा कृयाशिल बनेको बताउनुभयो ।
मञ्चका सल्लाहकार केशरप्रसाद निदोर्षीले स्रष्टा डा. अशोक थापाको व्यक्तित्व परिचयसँगै शुभकामना व्यक्त गर्नुभयो । उहाँले विकासका लागि सबैको सकारात्मक सहयोग आवश्यक हुनेमा जोड दिनुभयो । विभिन्न कृतिहरू प्रकाशन गरिसकेका त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत थापाको हालै सन्तापको धुन शीर्षकको कथा सङग्रह बजारमा आएको छ ।
मञ्चका अध्यक्ष बरालको अध्यक्षता एवम् मञ्चका सचिव एवम् सांस्कृतिक उपसमितिका संयोजक रामप्रसाद ढकालले सञ्चालन गर्नुभएको कार्यक्रममा सदस्य ऋषिमाया लामिछानेले स्वागत गर्नुभयो ।
पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारी, वडा नं २१ का वडा अध्यक्ष दीपकप्रसाद सुवेदी, वडा नं १७ का वडा अध्यक्ष राधिका शाही योगी, वडा नं ७ का वडा अध्यक्ष राममोहन आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टीका गण्डकी प्रदेश महामन्त्री माधवप्रसाद कंडेल लगायतले चाडपर्वले सबैमा सुख शान्ति र समृद्धि ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

27Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected