विद्यालय शिक्षाबाट बञ्चित आठ किशोरीलाई लगानी

पोखरा भ्यूज
१९ साउन, पोखरा । पोखरा उद्योग वाणिज्य संघ÷बालश्रम न्यूनीकरण कार्यक्रम अन्तर्गत ८ किशोरीलाई आत्मनिर्भर बनाउन ४० हजार रुपैयाँ लगानी गरिने भएको छ ।
किडासाको सहयोगमा जीवनको सिकाई कार्यक्रममा आवद्ध विद्यालय शिक्षाबाट वञ्चित आठ किशोरीलाई उक्त रकम सहयोग स्वरुप लगानी गर्न लागिएको सामाजिक परिचालक कोपिला पण्डितले बताइन् । छनौटमा परेका किशोरीहरुले बत्ती काट्ने पेशा सञ्चालन गर्ने छन् । किशोरीहरुलाई आत्मनिर्भर बनाउन उनीहरुको सीप र दक्षता अनुसार नै लगानी गरिएको हो ।
यसबीच पोखरा उद्योग वाणिज्य संघ/बालश्रम न्यूनीकरण कार्यक्रम सञ्चालन गर्नेबार शुक्रबार एक भेलाको आयोजना गरिएको थियो । भेलालाई सम्बोधन गर्दै पोखरा महानगरपालिका वडा नं. १७ का वडा सदस्य विष्णुकुमारी थापाले किशोरीहरुलाई आत्म निर्भर बनाउन कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरिन् ।
भेलामा उपस्थित किशोरीहरुलाई वडा सदस्य थापा र सामाजिक परिचारिका पण्डितले संयुक्तरुपमा लगानी रकमको चेक हस्तान्तरण गरेका थिए ।
सामाजिक परिचारिका कोपिला पण्डितले आयआर्जन नभएका र विद्यालय शिक्षाबाट वञ्चित भएका आठ किशोरीहरुलाई छनौट गरी उनीहरुलाई आत्मनिर्भर गराउन लगानी गरिएको बताइन् ।