गणपुरक संख्या नपुगेपछि एन्फाको विशेष साधारणसभा स्थगित, पुनः सोमबार बिहान ११ बजे बस्ने

पोखरा भ्यूज
२४ भदौ, काठमाडौं । गणपुरक संख्या नपुगेपछि अखिल नेपाल फुटबल संघ एन्फाको आइतबार तय भएको विशेष साधारण सभा स्थगित भएको छ ।
एन्फाले आइतबार अनलाइनमार्फत विशेष साधारण गर्ने निर्णय गरेको थियो । तर डिभिजन क्लबहरुले विशेष साधारण सभा भौतिक उपस्थितिमै गर्न माग राख्दै सभामा भाग नलिएपछि गणपुरक संख्या नपुगेको हो ।
साधारणसभाका लागि गणपुरक संख्या नपुगेपछि पुनः भोलि सोमबार अर्थात् भदौ २५ गतेका लागि साधारण सभा बोलाउने निर्णय गरिएको बताइएको छ ।
‘संघको २०८० भाद्र २४ गतेको अनलाइनमार्फत भएको एन्फा विशेष साधारण सभामा एन्फाको विधान २०७७ संस्करणको धारा (२८) को (१) बमोजिम गणपुरक संख्या अपुग भएकोले पुनः उक्त एन्फा विशेष साधारण सभा विधानको धारा २८ को २-३ अनुरुप अनलाइन मार्फत २०८० भाद्र २५ गते सोमबार बिहान ११ बजे बस्ने जानकारी गरियो’, एन्फाका प्रवक्ता सुरेश शाहद्वारा जारी विज्ञिप्तिमा उल्लेख छ ।
एन्फाको कार्यसमितिको आकस्मिक बैठकले महिला तथा अन्य फुटबल विकासको कार्यक्रम सञ्चालन गर्न विभिन्न देशका फुटबल संघ र दातृ निकायसँग आवश्यक पर्ने आर्थिक तथा अन्य सम्झौता गर्नको लागि संघको अध्यक्षलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।
फिफा वर्ल्ड कप क्वालिफाइङ राउण्ड एसियन जोनको मेडिया एण्ड कमर्सियल राइट सिंगापुरस्थित स्पोर्ट्स फाइभलाई दिएको छ । स्पोर्ट्स फाइभले गरेको प्रस्ताव अनुसार पहिलो राउण्डमा १५ हजार डलर र दोस्रो राउण्डमा ६५ हजार डलर हुनेगरी उक्त प्रस्ताव स्वीकृत गरेको एन्फाले जनाएको छ ।
बैठकले बेलायतको तेस्रो श्रेणीको टोली र नेपाली राष्ट्रिय फुटबल टोलीबीच २०२४ को अप्रिल र मेभित्र दुई मैत्रीपूर्ण खेल खेल्ने निर्णय पनि गरेको एन्फाले जनाएको छ ।