0Shares

पोखरा भ्यूज
२७ भदौ, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ुब्रेक सुु लगायतका माध्यमबाट भएको सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पेश गरेको छ ।

सीआईबीको अनुसन्धानमा ३ अर्ब ५० करोड २ लाख १६ हजार ५ सय ५२ रुपैयाँ बराबरको सुन तस्करी भएको दाबी निष्कर्ष निकाल्दै सोही बराबरको विगो कायम गरी मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई रायसहितको प्रतिवेदन पेश गरेको हो ।

अनुसन्धान प्रतिवेदनमा विभिन्न माध्यमबाट पछिल्लो समय ३ क्विन्टल ७८८ ग्राम सुन तस्करी भएको उल्लेख गर्दै त्यस प्रकरणमा संलग्न २६ जनाविरुद्ध मुद्दा चलाउन राय दिइएको छ ।

उनीहरुका उपरमा भन्सार ऐन २०६४ को दफा ५७ (१) (घ) को १ (ख), संगठित अपराध निवारण ऐन २०७०, नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५, मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ को एकीकृत कसूर, नेपाल नागरिकता ऐन २०६३, राहदानी ऐन २०७६, अध्यागमन ऐन २०४९ समेत गरी ७ वटा ऐन बमोजिमको कसूरमा मुद्दा चलाउन राय दिइएको छ ।

सुन प्रकरणमा हालसम्म ३२ जना पक्राउ परेका छन् । ती मध्ये २६ जनालाई मुद्दा दायर गर्न राय दिइएको छ । १८ जना फरार छन् । फरार मध्ये १४ जना विदेशी नागरिक भएको पनि उक्त अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ । यद्यपि अनुसन्धान पनि जारी रहेको सिआईबीले बताएको छ ।

सरकारी वकिलको कार्यालयमा उक्त रायसहितको अनुसन्धान प्रतिवेदन पेश गर्नुअघि आयोजित पत्रकार सम्मेलनमा हाल सम्मको अनुसन्धानको क्रममा जम्मा ३२ जना नेपाली तथा बिदेशी नागरिकहरू पक्राउ परेका र रेडिट्रेड प्रा.लि.बाट आयात गरिएका ब्रेकप्याडहरूमा लुकाई छिपाई अवैध पैठारी गरेको जम्मा वरामद ६०.७१६ किलो र सुन निकाली पुन प्याकिङ गरिएको अवस्थामा बरामद भई आएका ब्रेकप्याडहरूको तौलबाट एकिन गरिएको ३०२.०६२ किलो गरी जम्मा ३६२.७७८ किलोग्राम सुनको हुन आउने मुल्य रु. तीन अरब पचास करोड दुई लाख सोह हजार पाँच सय वाउन्न रुपैंया बराबरको सनु अवैध पैठारी भएको पुष्टि हुन आएको जानकारी दिइएको थियो ।

त्यसैगरी सुन अवैध पैठारी गर्न खडा गरिएका अन्य पाँच वटा कम्पनीहरू मार्फत ल्याईएको सुनको विवरणमाथि थप अनुसन्धान भइरहेको छ । यस प्रकरणमा संलग्न ५ जना विदेशी नागरिकहरूले झुटा विवरण पेश गरि नेपाली नागरिकता तथा राहदानी समेत लिएको पुष्टि हुन आएकोले त्यस प्रकरणमा थप अनुसन्धान शुरु गरिएको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।

गत असार २ मा राजस्व अनुसन्धान विभागको टोलीले सिनामंगल स्थित त्रिभुवन विमानस्थल भन्सार कार्यालय परिसर बाहिर बा २ ज २३२४ नम्बरको ट्याक्सीमा गाडीको ब्रेक प्याड १६० सेट सहित ८ कार्टुन बरामद गर्दा उक्त ब्रेक प्याडमा अवैध सुन भएको पुष्टि भएको थियो ।

 

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected