अरुणोदय यूथ क्लबद्वारा चाडपर्व बिशेष शुभकामना आदान–प्रदान, सम्मान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

पोखरा भ्यूज
पोखरा, २७ कार्तिक । अरुणोदय यूथ क्लबले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् बिशेष शुभकामना आदान–प्रदान, सम्मान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।
पोखरा–७, घारीपाटनस्थित माउण्ट हेभन स्कूल परिसरमा सम्पन्न उक्त कार्यक्रममा बोल्ने बक्ताहरुले समाज सुधारका लागि क्लबले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै सकेको सहयोग गर्ने प्रतिबद्वता सहित चाडपर्वको शुभकामना आदान प्रदान गरेका थिए ।
कार्यक्रममा तरेली सांस्कृतिक परिवार, नौलो विहानी समूह र आयोजक क्लब अरुणोदय यूथ क्लबका कलाकारले बिबिध सांस्कृतिक कार्यक्रम प्रदर्शन गरेका थिए ।
क्लबका अध्यक्ष नरेन्द्र गुरूङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन केसी ग्रुपका निर्देशक समाजसेवी युवा राजनीतिज्ञ किरण केसीले गरेका थिए ।
कार्यक्रममा बोल्दै केसीले चाडपर्वलाई भड्किलो बनाउन नहुँने भन्दै मितव्ययीताका साथ हर्षोल्लासमय वातावरणमा मनाउनु पर्ने बताए । उनले हाम्रा चाडपर्वले संस्कृतिको संरक्षण, सामाजिक सद्भाव, एकता र मेलमिलापको निम्ति महत्त्वपुर्ण भूमिका खेल्ने हुदाँ भड्किलो बनाउन नहुँने भन्दै मितव्ययीताका साथ हर्षोल्लासमय वातावरणमा सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा क्लब संस्थापक सल्लाहकार अनिल कुमार शाहीलाई सम्मान गरिएको थियो । भर्खर मात्र सरकारी सेवाबाट अवकास लिनु भएका (सहायक प्रमुख जिल्ला अधिकारी)शाहीले क्लब स्थापनादेख़ि अनवरत रूपमा पुर्र्याउनु भएको योगदानको उच्च सम्मान गर्दै क्लबले सम्मानित गरेको थियो । उनलाई कार्यक्रमका प्रमुख अतिथि केसी, क्लबका अध्यक्ष नरेन्द्र गुरूङ, निवर्तमान अध्यक्ष सुरेश गुरूङ, संस्थापक अध्यक्ष बिक्रम गुरूङलगाएतले सम्मान गरेका थिए ।
सम्मानित व्यक्ति शाहीले सम्मानले आफुलाइ क्लब प्रति ऋणी र थप जिम्मेवार बनाएको बताउदै आफूलाई उत्साहित साथै हौसला प्रदान गरेको बताए । क्लब गरेका समाज परिवर्तनका रचनात्मक कार्यमा सदैव साथ सहयोग रहने प्रतिबद्धता सहित नेपाली संस्कृति र सामाजिक एकतासँग जोडिएका कारण नेपाली चाडपर्वको महत्व जिवन्त रहिरहने बताए ।
विशिष्ट अतिथि पोखरा महानगरपालिका वडा नं. ७ का वडाध्यक्ष राममोहन आचार्यले चाडपर्व हाम्रा सांस्कृतिक धरोहर भएको भन्दै यसले शान्ति, विकास र समृद्धिको यात्रालाई समेत प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने गरेको बताए । उनले क्लबले गरेका सकारात्मक कार्यमा वडाले हातेमालो गर्दै अघि बढ़ने प्रतिबद्वता समेत व्यक्त गरे ।
क्लबका अध्यक्ष नरेन्द्र गुरूङ, उपाध्यक्ष घनश्याम लामिछाने, सचिव विष्णु सुवेदीले क्लबले गरेका वार्षिक गतिबिधि बारे प्रकाश पार्दै प्रत्येक बर्ष आयोजना गर्दै आएको यस कार्यक्रमलाई सब्य र भव्य रूपमा सफल बनाउन सबैको साथ र सहयोग प्रति धन्यवाद सहित आभार व्यक्त गरेका थिए ।