काठमाडौँ, पुस १७ । राष्ट्रिय सभाको अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । अधिवेशनबीचको अन्तर छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्थाअनुसार शुक्रबारदेखि अधिवेशन प्रारम्भ हुन लागेको हो ।
प्रतिनिधि सभा विघटन भएपछि पहिलोपटक सङ्घीय संसद्को एक मात्र सदनको अधिवेशन बोलाइएको हो । आज अपराह्न ४ बजेबाट अधिवेशन प्रारम्भ हुनेछ ।
सचिवालयले अधिवेशन प्रारम्भको सम्भावित कार्यसूचीसमेत सार्वजनिक गरेको छ । बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सम्भावित कार्यसूची तय गरेको हो । सार्वजनिक सम्भावित कार्यसूचीमा अधिवेशन प्रारम्भबारे राष्ट्रपति कार्यालयको पत्रबारे जानकारी गराइनेछ ।
यस्तै मन्त्रिपरिषद् पुनर्गठनबारे राष्ट्रपति कार्यालयको पत्रको जानकारी पनि सभामा गराइनेछ । यस्तै बैठकमा अधिवेशन नचलेको अवस्थामा बाधा अड्काउबाट भएको समिति गठनको आदेश पनि अनुमोदनका लागि सदनमा पेस गरिने सम्भावित कार्यसूची रहेको छ ।
अधिवेशन प्रारम्भका अवसरमा संसदीयदलका नेताहरूले सम्बोधन गर्ने पनि सम्भावित कार्यसूची रहेको छ । यसैगरी अधिवेशन नभएको अवधिमा सरकारको सिफारिसमा विभिन्न समयमा जारी गरेका सातवटा अध्यादेश पनि पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
यसबीचमा तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमन, संवैधानिक परिषद् काम, कर्तव्य र अधिकारसम्बन्धी पहिलो संशोधन अध्यादेश, नेपाल प्रहरी तथा प्रदेश प्रहरीको कार्यसञ्चालन तथा सुपरिवेक्षणसम्बन्धी अध्यादेश, सामाजिक सुरक्षा अध्यादेश जारी भएका थिए । यस्तै औषधि (तेस्रो संशोधन) अध्यादेश, ऐन हिंसाविरुद्ध केही नेपाल ऐन संशोधन अध्यादेश तथा फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश पनि पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
यस्तै सदनको अधिवेशन नभएको अवधिमा निधन हुनुभएका बहालवाला तथा पूर्वसांसदको निधनमा पनि शोक प्रस्तावको सम्भावित कार्यसूची रहेको छ । यसबीचमा प्रतिनिधि सभा सदस्यद्वय सानु शिवा र सूर्यबहादुर केसीको निधन भएको थियो । यस्तै प्रतिनिधि सभाका पूर्वसदस्यहरू ओमकारप्रसाद गौचनको पनि यस अवधिमा निधन भएको थियो । यस्तै राष्ट्रिय सभाका पूर्वसदस्यद्वय दीपकबहादुर गुरुङ र इन्द्रहाङ लिम्बूको पनि निधनभएको थियो । Source GorkhapatraOnline https://gorkhapatraonline.com/