पोखरा । एभरेस्ट एफ एम ९३ मेगाहर्जले आगामी बुधबार आकस्मिक रक्तदान गर्ने भएको छ ।
विभिन्न चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रमहरु हुन नसक्दा पोखरामा रगतको अभावलाई पुरा गर्न क्षेत्रिय रक्तसञ्चार केन्द्रको अनुरोधमा कार्यक्रमको आयोजना गर्न लागिएको एफएमले जनाएको छ ।
‘स्वस्थ जीवनका लागि रक्तदान, पुण्यका लागि रक्तदान’ भन्ने नाराका साथ आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको एफएमका प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठले जानकारी दिए । उनले रगतको अभावमा आहत मनहरुलाई राहत प्रदान गर्न रक्तदान मार्फत पुण्य कार्यमा सहभागी हुन आग्रह गरे । क्षेत्रीय रक्तसन्चार केन्द्रको सहकार्यमा
रक्तदान कार्यक्रम पोखरा– ५, प्रस्याङ स्थित एफएमको प्राङ्गणमा बुधबार विहान ७ बजेदेखि सञ्चालन हुने छ ।
यसअघि एफएमले गतवर्ष आफ्नो वार्षिकोत्सवका अवसरमा आयोजना गरेको रक्तदानमा १८६ यूनिट रगत संकलन भएको थियो । जसमा ४५ जनाले पहिलो पटक रक्तदान गरेका थिए ।
रक्तदानमा १७ देखी ६० वर्ष उमेर समूहका ४५ केजी भन्दामाथि तौल भएका कुनै पनि दिर्घरोगको औषधी सेवन नगरेका संक्रामक रोग नलागेका स्वस्थ व्यक्तिले रक्तदान गर्न सक्ने छन् ।
रक्तदान गर्नाले शरिरमा नयाँ रक्तकोष उत्पादन भई स्वास्थ्य प्राप्ति हुने, हृदयघात र क्यान्सरको खतरा कम हुने, क्यालोरि कम भई शरिरको तौल घटाउन सघाउने लगायतमा फाइदा हुने विज्ञहरुको भनाई छ ।
यसका साथै रगतको विकल्प रगत मात्र भएकाले संकटमा परेकाहरुको जीवन बचाई खुशी दिलाउने र सामाजिक दायित्व निर्वाह गराई आत्म सन्तुष्टि प्रदान गर्नपनि रक्तदानको महत्व छ ।