साहित्यकार प्रकट पंगेनी शिव नेपाली काँग्रेसमा
- November 4, 2021
- 2340

पोखरा भ्यूज
पोखरा । पोखरेली कलाकार तथा साहित्यकार प्रकट पंगेनी शिवले नेपाली काँग्रेस रोजेका छन् । चित्रकारितामा पनि उत्तिकै पोख्त प्रकट गीत, गजल, कविता र मुक्तक लेखनका सिद्धहस्त सर्जक हुन् । नाटक लेखन र मञ्चनमा पनि उनको उत्तिकै दख्खल छ ।
रुपा गाउँपालिका वडा नं. ५ देउराली स्याथी घर भएका प्रकट विगत डेढदशकदेखि पोखरा बाटुलेचौरमा बस्दै आएका छन् । नेपाली साहित्यको गजल विधामा उनको छुट्टै पहिचान बनेको छ । पछिल्लो समय आख्यान लेख्दै गरेका प्रकट विहीबार नेपाली काँग्रेस पोखरा १६ ले तिहार र छठपर्वको अवसरमा आयोजित शुमकामना आदानप्रदान कार्यक्रममा काँग्रेस रोजेको घोषणा गरेका छन् ।

उनलाई नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायातमन्त्री कुमार खड्का र कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले संयुक्त पार्टीमा रुपमा स्वागत गरे ।
‘मेरो परिवारका सबै सदस्य नेपाली काँग्रेसमा आवद्ध छन्, म अहिलेसम्म स्वतन्त्र रहेको थिएँ,’ मन्त्रीद्वय खड्का र थापाले फूल माला र खादा ओढाएर काँग्रेसमा स्वागत गरेपछि साहित्यकार प्रकट भने–‘आजदेखि म पनि काँग्रेसमा समाहित भएको छु ।’
प्रायः श्रृङ्गारिक गलमा प्रस्तुत हुने प्रकट विहीबार समसामयिक विषयमा वीररसयुक्त व्यङ्ग्यात्मक शैलीको गजल वाचन गरे ।
काँग्रेस रोजेका अर्को युवा प्रदिप लामिछानेले लोकतान्त्रिक पार्टीमा समाहित हुँदा खुशी प्रकट गरेका छन् । उनक पिता स्व. गोपाल वि.क. नेपाली काँग्रेसका क्रियाशील सदस्य थिए । उनको एक महिनाअघि निधन भएको थियो ।
स्व. गोपाल वि.क. को निधन हुँदाका वखत नेपाली काँग्रेसको तारतारे झण्डा ओढाउन र परिवारजनमा समवेदनमा व्यक्त गर्न उनको निवास पोखरा १६, अर्मला पुगेका नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायातमन्त्री कुमार खड्का र कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापासमेतको टोलीसँग कुरा गर्दै स्व.गोपाल वि.क. का छोरा प्रदिपले आफ्ना पिताका अधुरा सपना पूरा गर्न नेपाली काँग्रेसमा आवद्ध भएको घोषणा गरेका थिए ।
पिताको दुःखमा रहेका बेला काँग्रेसमा आवद्ध भएको घोषणा गरेका प्रदिपले विहीबार मात्र पार्टीका आमन्त्रित केन्द्रीय सदस्य खड्काको हातबाट पार्टी सदस्यता लिएका हुन् । कार्यक्रममा पोखरा १६ का करिब दुई सय जनाले नेपाली काँग्रेस रोजेको पार्टी सचिव धर्मराज थापाले जानकारी दिए ।
कार्यक्रमका केही प्रतिनिधिमूलक तस्वीरहरुः











सम्बन्धित खवर
















