8Shares

पोखरा भ्यूज । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालका विभिन्न जातजाति, भाषाभाषी बीचको विविधता देशका लागि मात्र नभै समग्र विश्वका लागि पूँजी भएको बताएका छन ।
​तमु ल्होसार २०७८ का अवसरमा गण्डकी प्रदेश प्रमुखको कार्यालयद्वारा आज प्रदेश प्रमुखको सरकारी निवासमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले नेपाल बहुजातीय बहुभाषिक, बहुसांस्कृतिक विशेषताले भरिपूर्ण रहेको बताए ।
​जातजातिका भाषा, संस्कृति देशका मौलिक सम्पत्ति भएको उल्लेख गर्दै प्रदेश प्रमुख गुरुङले यिनीहरूको जगेर्ना राज्यको दायित्व भएको उल्लेख गरे ।
​देशमा समावेशी लोकतान्त्रिक संविधान बनेको बताउँदै उनले ल्होसार पर्र्वले राष्ट्रमा समाजिक न्याय सहितको समृद्धि हासिल गर्न प्रेरणा मिल्ने बताए ।
​गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लामो समयदेखिको एकात्मक व्यवस्थाले राष्ट्रियताको संकुचित परिभाषा गरेको बताउँदै २०६२÷०६३ को जनआन्दोलन पश्चात सबै जाताजाति, भाषभाषी एवम् संस्कृतिबीचको एकतालाई राष्ट्रियताका रुपमा लिइएको धारणा राखे । नेपाली विविधताबीच सबैले सामुहिक समर्पणको भावना सिर्जना गर्नुपर्ने बताउँदै उनले ल्होसार पर्वले सबैलाई एकतावद्ध हुन प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
​गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सबै जातजाति, भाषभाषी र संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड दिए ।
​प्रदेश प्रमुख सचिव हरिप्रसाद बास्तोलाले ल्होसार पर्वले सबैमा सुख शान्ति र समृद्धि ल्याउने कामना गरे ।
​तमु धी नेपालका अध्यक्ष हुमबहादुर तमुले तमु समूदायको नयाँ वर्षका रुपमा ल्होसार मनाइने बताउँदै गाई वर्गको विदाई र बाघ वर्गको आगमनका रुपमा यस वर्ष ल्होसार मनाउन लागिएको जानकारी दिए ।
​कार्यक्रममा गण्डकी प्रदेश सरकारका मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, संबैधानिक निकायका प्रमुखहरू, सुरक्षा निकायका प्रमुख, उच्च पदस्थ सरकारी अधिकारी, सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

8Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected