महावीर कृषि मार्गको शिलान्यास
- January 22, 2022
- 4509

पोखरा भ्यूज
पोखरा । पोखरा महानगरपालिका वडा नं. १६ स्थित महावीर कृषि मार्गको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काले शनिबार एक समारोहका बीच उक्त सडकको वैदिक विधि अनुसार शिलान्यास गरेका हुन् । स्थानीय बौरदेखि कुरसम्मको उक्त सडक खण्डको स्तरोन्नतिका लागि गण्डकी प्रदेश सरकारबाट रु. ५० लाख रपियाँ बजेट विनियोजन भएको थियो ।

सडक शिलान्यासपछि आयोजित सभालाई सम्बोधन गर्दै मन्त्री खड्काले पूर्वाधारबाट विनियोजित विकास खर्च अन्तर्गत १० प्रतिशत कार्य सम्पन्न भइसकेको बाँकी ९० प्रतिशत चालू अवस्थामा रहेको जानकारी दिए । उनले विकास आयोजना उपभोक्ता समितिको जिम्मामा दिंदा र टेण्डर प्रक्रियाबाट ठेक्का लगाउँदाको किफाइती र निर्माण कार्यको गुणस्तर थाहा पाउन मन्त्रालयले छुट्टै अध्ययन समिति गठन गरी सो समितिले तयार पारेको अध्ययन प्रतिवेदनका आधारमा टेण्डर प्रक्रियाबाट ठेक्कामा दिने गरिएको बताए ।
पोखरा महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष जीवनप्रसाद आचार्यले वडाभित्रका विकास निर्माणका कार्यक्रममा राजनीतिक रुपमा आग्रह र पूर्वाग्रह नराखेको दावी गरे । विकासका कार्यक्रममा सबै राजनीतिक दल र नेताको सहयोग र समन्वयबाट सम्पन्न भएको र वडामा राजनीतिक संस्कार सद्भाव उच्च रहेको वडाध्यक्ष आचार्यको भनाई छ ।
महावीर कृषि सडक उपभोक्ता समितिका अध्यक्ष जीतबहादुरको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश पूर्वाधार कार्यालका प्रमुख ई. डा. महेन्द्र बानियाँ, पोखरा महानगरपालिका वडा नंं ८ का इञ्जिनियर हरिबहादुर बस्नेत, हिमालय क्लबका अध्यक्ष शुशिल बस्नेत, समाजसेवी शारदा बस्नेत लगायतले आआफ्नो धारणा राखेका थिए ।








सम्बन्धित खवर
















