
पोखरा भ्यूज
पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ ढाँडबेसीस्थित आर्वा विजय माध्यमिक विद्यालयको पक्कि भवन निर्माण कार्य सम्पन्न भएको छ । भारत सरकारको तीन करोड ९८ लाख ३४ हजार आर्थिक सहयोगमा दुई तल्ले १६ कोठे पक्कि भवन निर्माण गरिएको हो ।
भारतीय राजदूतावासका चार्ल डी अफेयर्स नामग्य सी खम्पा र जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर क्षेत्री अधिकारीले बुधवार एक समारोहका बीच संयुक्तरुपमा उक्त भवनको उद्घाटन गरेका थिए ।
सुविधा सम्पन्न उक्त विद्यालय भवनको उद्घाटन समारोहमा बोल्दै भारतीय राजदूतावासका खम्पाले भारतले नेपालको शैक्षिक एवं सामाजिक क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै आएको बताईन ।
नेपाल भारत बीच सदियौ बर्षको प्रगाढ मैत्री सम्वन्ध रहेको उल्लेख गर्दै उनले दुईदेश बीच साझेदारीका आधारमा भएका विकास निर्माण उपलव्धिमूलक हुनु पर्नेमा जोड दिएकी छन ।
भौतिक पूर्वाधार निर्माणले शैक्षिक क्षेत्रको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्दै राजदूतावासका खम्पाले यसको उपयोग र निरन्तरताका लागि स्थानीय समाज सचेत हुनु पर्ने आवश्यकता औल्याईन ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर क्षेत्री अधिकारीले नेपालको शैक्षिक क्षेत्रको विकासमा भारतीय दूतावासको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दे सुखी नेपाली समृद्ध नेपाल निर्माणका लागि गुणस्तरीय शिक्षाको खाँचो औल्याए । विद्यालयको कम्पाउन्ड वाल निर्माणका लागि पोखरा महानगरको साझेदारीमा समन्वयकोतर्फबाट २५ लाख रुपैया सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै उनले गुणस्तरीय शिक्षाको माध्यमबाट मात्र विद्यार्थीको आकर्षण बढ्न सकिने विश्वास व्यक्त गरे ।
स्थानीय शिक्षाप्रेमीहरु प्रा.डा. कमलमणी बराल, स्वर्गीय ढुण्डीराज बराल, दयासागर बराल, धनश्याम बरालले निशुल्क प्रदान गरेका १३ रोपनी चार आना क्षेत्रफलको जग्गामा सो भवन निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर बरालले जानकारी दिए ।
कार्यक्रममा विद्यालयका सल्लाहकार एवम् पूर्व जिविस उपसभापति श्रीनाथ बराल, शिक्षा विकास शाखा प्रमुख नारायण प्रसाद सुवेदी, विद्यालयका प्रअ पद्मादेवी बराल लगायतले भौतिक पूर्वाधार र गुणस्तरीय शिक्षाको महत्व माथि प्रकाश पारेका थिए ।
डिएसआर निर्माण सेवा प्रालिका प्रोपाईटर ऋषिराम गौतमका अनुसार तोकिएको समयमा निर्माण सम्पन्न भई नयाँ भवनमा कक्षा सञ्चालन भएको र सम्झौता अनुसार समयमा रकम भुक्तानी नपाउदा अप्ठेरो पर्ने गरेको छ ।
कार्यक्रममा विद्यालयका छात्राद्धारा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।








सम्बन्धित खवर
















