राजमार्ग निमार्णमा ढल निकासीलाई ध्यान नदिदाँ बस्ती डुबानमा

पोखरा भ्यूज
पोखरा । देशमा बर्खेनी बाढिपहिरो र डुबानका घटना हुने गरेकै छन् । अघिल्लो बर्खामा पोखरा २० भलाममा डोजरे विकासका कारण नै ८ जनाले ज्यान गुमाए । त्यो भन्दा अघि पनि सराङकोटमा पाँच जनाले ज्यान गुमाएका थिए ।
शुक्रबार रातीदेखी परेको अविरल वर्षाका कारण पोखरा २५ हेम्जा स्थित सुइँखेत क्षेत्र यतिबेला डुबानमा परेको छ । लगातारको वर्षाले सुइँखेतको चौरासी नहर बढेभछि भत्किदाँ पानी बस्तीमा पसेको हो । आसपास रहेका खोल्साबाट समेत बगेर आउने पानीले निकासा नपाउँदा पुरा फाँट डुबाएको हो ।
यसको मुख्य कारण भने मध्य पहाडी लोकमार्ग अन्तरग हेम्जामा पर्ने सडक रहेको स्थानीयहरुले बताएका छन् । यस अघि पुरानो सडक हुँदा उचित नहर निकासीको बाटो रहेपनि अहिले भने साघुँरो हुँदा नहर फुटेको उनीहरुको आरोप छ ।

सडक मात्रै नभई अव्यवस्थित रुपमा खेतमा घर निमार्ण गर्नेक्रम बढेकालेपनि समस्या आएको हो । केहि वर्षअघिसम्म धानखेत हुने स्थानमा प्लटिङ गर्दै घर ठडिनु र राजमार्ग विस्तार हुँदा खोलासम्म पुग्ने पानीको निकासीलाई अलपत्र पारिनु यस्को मुख्य समस्या रहेको छ ।
डुुबानबाट सुइँखेतको म्याग्दीचोक, सुन्दरपुरीचोकका करिब ७० घर डुबानमा परेको हो । भएको वडाध्यक्ष मोतीलाल तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार स्थानीयलाई राति नै उद्धार गरी सुरक्षित स्थानमा सारिएको थियो । यस्तै सुन्दरपुरीचोकमा पहिरो खसेपछि दुई घरमा क्षति भएको छ । स्थानीय लक्ष्मी विक र रिभना विकको घर पहिरोले पुरेको हो । अन्य १५ घरमा पहिरो पसेर आंशिक क्षति पु¥याएको छ । फाँटमा पानी थुनिने र पहिरो आउने भएपछि शुक्रबार राति नै स्थानीय घरबाहिर निस्किएर सुरक्षित स्थानमा सरेकोले मानवीय क्षति हुन नपाएको वडाध्यक्ष तिमिल्सिनाले बताए । ‘फेरि बाढीपहिरो आउने हुन् कि भनेर स्थानीय त्रसित अवस्थामा बसिरहेका छन्,’ उनले भने ।
स्थानीयको उद्धारमा रातिदेखि नै प्रहरी परिचालन गरिएको थियो । स्थानीयको उद्धार गरी कसैलाई आफन्तकोमा पठाइएको थियो भने कसैलाई सामाजिक भवन, मन्दिरमा राखिएको थियो । वडाले सहयोगका लागि सिचाईँ, महानगर लगायत सम्बन्धित स्थानलाई गुहारेपनि आएर हेर्ने बाहेक अन्य काम नभएको बताए । ‘अहिले भयभित अवस्था छ । सम्बन्धित निकायहरुबाट भ्रमणचाहिँ भएको छ । सहयोग चाहिँ भएको छैन् । हामीले विपद् व्यवस्थापनलाई भनेका छौँ सिचाई तिर भनेका छौ तर वहाँहरुले आएर हेर्नुभयो काम गर्नुभएन ।’
उक्त क्षेत्र यस अघिपनि सामान्य रुपमा डुबानमा पर्दै आइरहेको उनले सुनाए । डुबानका कारण करिब ३–४ सय परिवार विस्थिापित भएको उनले सुनाए । पहिरो र डुबानले सुन्दरपुरीचोकको दुई कृषि फर्ममा समेत क्षति पु¥याएको छ । खेती गर्ने जमिन पछिल्लो समय मासिदै गइरहेका छन् । खेतमा प्लटिङ गर्ने र घर बन्न थालेपछि वर्खाको पानी सोहि घरमा पस्न थालेको छ । पहिला धान रोप्दा धानमा जाने पानी अहिले घर रोप्न थालेपछि घरमा जान थालेको हो । यो मानविय गल्तीकै कारण आएको विपद् हो । स्थानीय डोलराज पौडेलले मध्यपहाडी लोकमार्ग निमार्णको भएको कारण समस्या आएको बताए ।
‘पहिला जुन बाटो थियो त्यो भन्दा माथिबाट डाडाँ काटेर बाटो बनायो । त्यहाँ पाखा पखेरो थियो, नहर थियो त्यो नहर पहिला खोलामा निस्किन्थ्यो । के भयो भन्दा बाटोको उचाई गहिरो जमिन जुन थियो त्यो भन्दा उचाईको बनाइदियो । पहिला सडक बराबरमै घर थियो अहिले त्यो कम उचाईमा छ र अर्को कुृरा भनेको राखेको ढल साँघुरो भएको कारणले पनि हो’ उनले भने,‘ अहिले क्षति भएको मुख्य कारण भनेको पहिरो खस्नाले र नहर फुट्नाले क्षति भएको हो । पहिला बाटोबाट खोलामा पानी निकासी हुने ठुलो ढलथियो अहिले त्यो कुराको ख्याल गरिएन नगर्नाको कारण निकास भएन निकास नभएपछि डुबानमा प¥यो । चौरासी नहर फुट्दा डुबान परेको हो । निकासा हुन सकेन । खोलामा जोडिएन् ।’
यस्तै पोखरा १६ सालघारी देउरालीमा बाढिले राम बहादुर मगरको घर बगाएको छ । भने अन्य १३ वटा घरमा आंशिक क्षति पुगेको छ ।
हेम्जा खहरेटारी बस्ने सुरेम बहादुर गुरुङले पालेको ११ वटा मध्ये ९ वटा बाख्राको मृत्यु भएको छ । पोखरा २३ हर्पनका नर बहादुर क्षेत्रीको भैँसी गोठमा चट्याङ पर्दा एक वटा ब्याउने भैँसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्त सुन्दर तिवारीले जानकारी दिए ।
सुरक्षा निकायसंग छैन् विपद् आपतकालिन सामग्री
राती अचान परेको अविरल वर्षापछि एक्कासी पहिरो आउँदा र नहर फुटेर बस्ती डुबान पर्नासाथ नेपाल प्रहरी पुगेको थियो । नेपाल प्रहरीले डुबानमा परेको बस्तीबाट रातभर स्थानीयको उद्धार गरिरहँदा भने प्रहरीसंग आपतकालिन उद्धार सामग्री नै थिएन । उनीहरुले अध्यारोमा नै उद्धार गर्न बाध्य थिए । संयोगवस सवारी पुग्ने क्षेत्र भएकाले प्रहरीले सवारी इन्जिन अन गरेर लाइट बालेर काम गरेका थिए । राज्यले विपद्का लागि वर्षेनी बजेट विनियोजन गरिरहँदा विपद्को समयमा आवश्यक पर्ने आपतकालिन उद्धार सामग्री नहुनु लाजमर्दो कुरा हो । सामान्य तयाः विपदका लागि प्रत्येक वडामा समेत आपतकालिन उद्धार सामग्री हुनुपर्ने हो तर, कास्की जिल्लामा भने त्यो छैन् । नत वडा संग छ न त वडामा रहेका प्रहरी चौकीमै ।
जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले प्रहरी रातभर अध्यारोमा नै उद्धार गर्न बाध्य भएको बताए । उनले प्रहरीसंग आवश्यक लाइट नहुँदा समस्या आएको सुनाए । ‘ हिजो राती प्रहरी विना टचलाइट नै पुगेको थियो । अध्यारोमा गर्न प¥यो । त्यसतो बेलमा बत्ति गएको हुन सक्छ वा पोल ढलेको हुन सक्छ त्यसकारण सामान नजिकको प्रहरी चौकीमा राख्नका लागि महानगर वा पालिकासंग समन्वय गरेका छौँ’ उनले भने, ‘ विपद् आइलाग्यो भने त प्रहरी दौडन प¥यो । हेल्मेट लाउलान हेल्मेट नै छैन् । बाकिँ टिमले पनि सामान ल्याउन पर्ला केहि पनि हुदैँन त्यसतोमा चाहिँ प्रारम्भिक सामानहरु डोरी, बुट गम्बुट,टच लाइट केहि पनि छैन् ।’
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डिएसपी सुन्दर तिवारीले विपद्को समयमा आवश्यक पर्ने उद्धार सामग्री भइदिएको भए राम्रो हुने बताए । उनले आफुहरुले लाइट बिनानै काम गर्न बाध्य भएको सुनाए । ‘ हामी स्रोत साधन सम्पन्न होइनौं । संयोगवस गाडी पुग्ने स्थान भएकाले फोकस लाइट बालेर नै काम गरेका थियौँ । हामीसंगमात्रै होइन शसस्त्र प्रहरी र नेपाली सेनासंगपनि त्यो छैन्’ उनले भने,‘हामीसंग इच्छा शक्ति छ तर सामान छैन । सामान छैन भनेर बस्ने अधिकार हामीलाई छैन र हामी काम गर्छौ । विपद्का् बेलामा चाहिने साधन स्रोतको कमी नभए उद्धार कार्यमा छिटो हुनेथियो ।’
उनले शनिबार जिल्ला प्रशासन कार्यालयमा भएको विपद् सम्बन्धि बैठकमा सुरक्षा निकायले उक्त कुरा उठाएको जानकारी दिए । बैठकले विपद्को समयमा तत्कालै खटिने गरी सहायक जिल्ला अधिकारीको संयोजकत्वमा कमान्ड पोस्ट बनाएको छ । यस्तै २४ घण्टा नै तयारी अवस्थामा रहने गरी ३ सुरक्षादलका ७५ जना जनशक्ति तैनाथ रहेका छने । बैठकले मेसिनरी सामान रहेका सरकारी कार्यालयले समेत त्यो उपलब्ध गराउनेगरी निर्णय गरेको छ ।
‘हामीले विपद् आउँदा कुन–कुन समस्याहरु रहन्छन र त्यसमा केके चाहिन्छ भन्ने जनशक्तिको परिचालन , नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी परिचालन गर्न कमान्ड पोस्ट बनाएका छौँ’ प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले भने, ‘३ सुरक्षा निकायबाट कम्तिमा पनि २५–२५ जनाको दरले गरी ७५ जना २४ घण्टा नै तयारी अवस्थामा रहनेछन् । जनशक्ति परचालन, मेसिनरी सामान परिचालन तथा सहयोग सम्बन्धमा छलफल भएको हो ।





















