59Shares

पोखरा भ्यूज

पोखरा, २६ असार । लायन्स क्लब अफ पोखरा पेन्गुईनले पोखरा महानगरपालिका वडा नं. ३३ को आपु कस्यारीका कृषकहरुलाई फलफूल तथा डालेघाँसका बिरुवा बितरण गरेको छ । शनिबार एक कार्यक्रमका बिच बन निर्देशनालय गण्डकी प्रदेशका निर्देशक रामकाजी श्रेष्ठले कृषकहरुलाई बिरुवा बितरण गरेका हुन । कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रेष्ठले कृषकहरुका लागी डालेघाँस महत्वपूर्ण हुने बताए । नेपालमा अझै पनि ८० प्रतिशत भन्दा बढी मानिसहरु कृषि पेशमा आबद्ध भएको अवस्थामा कृषिकमुखी कार्यक्रम ल्याएर लायन्स क्लबले निकै राम्रो काम गरेको बताए । कृषिमा मात्र होईन डालेघाँसले पर्यावरणको क्षेत्रमा पनि काम गर्ने भएकाले यस प्रकारको बहु उपयोगी काम भएको उनले बताए । कृषकहरुले बस्तुभाउ पाल्न र फलफूलका बिरुवाहरुबाट आय आर्जनको माध्यम बनाउन पनि सजिलो हुने भएकाले यो कार्य निकै प्रशंसनीय भएको उनको भनाई थियो । प्रदान गरिएको बिरुवाहरुलाई जतनका साथ हुर्काउन र कृषिलाई प्रबिधीमैत्री रुपमा उपयोग गर्न समेत उनले आग्रह गरे । केही समस्या भए बोट बिरुवाबारे बुझ्न र थप बिरुवा चाहिएमा बन कार्यालयलाई सम्पर्क गर्न समेत उनले आग्रह गरेका छन ।

कार्यक्रममा बोल्दै लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ आई नेपालकी रिजन चियर पर्सन (रिजन ४) हिरा भण्डारीले वाताबरण संरक्षणमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमीका खेल्ने बताईन । उनले हरेक बर्ष धेरै जस्तो लायन्स क्लबले गर्ने बृक्षरोपण कार्यक्रमबाट लाखौं कृषकहरु लाभान्वित भएको समेत उनले बताईन । डाले घाँस तथा फलफूलको बिरुवाले कृषकलाई कृषिमा सहयोग पुर्याउने बताउँदै रिजन चियर पर्सन भण्डारीले भनिन ‘वातावरणको क्षेत्रमा काम गर्न हाम्रो रिजनले बिभिन्न योजना समेत बनाएको छ’ । स्थापना भएको छोटो समयमा नै उत्कृष्ट काम गरेको भन्दै लायन्स क्लब पेन्गुईनको प्रशंसा समेत गरिन ।
उक्त कार्यक्रममा ५० घर परिवारका लागी ३२० बिरुवाहरु बितरण गरिएको थियो । जसमा इपिल–इपिल, बकाईनो, राईखनियो, बाँस, तेजपत्ता, अम्बा, चिउरी र अमलाका बिरुवाहरु रहेका छन् । बिरुवा प्राप्त गरेपछि भगवती आधारभूत बिद्यालयका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकनाथ पौडेलले महानगरपालिका भएपनि अहिले सम्म कोही कसैको आँखा नपरेको गुनासो गरे । उनले भने ‘भन्नलाई महानगरबासी हौं तर राज्यको समेत आँखा परेको छैन’ । बिकासको गतिले अति नै पछि परेको बताउँदै लायन्स क्लब यहाँसम्म आएर सहयोग गरेकोमा धेरै खुसी लागेको समेत बताए । कार्यक्रममा लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक ३२५ आई नेपाल जोन ८ का जोन चियर पर्सन पदमलाल श्रेष्ठ, बन बिज्ञान बिद्यार्थी तथा एक्यापकी पूर्व कर्मचारी अस्मीता न्यौपाने, पेन्गुईनका चाटर्ड प्रेसिडेण्ट सितल श्रेष्ठ, इमिडियट पास्ट प्रेसिडेण्ड ज्ञान बहादुर राना, प्रथम उपाध्यक्ष डण्डीराज त्रिपाठी, बिकास नेपाली लगायतको उपस्थिती रहेको थियो । क्लबका सचिव सुबास अम्गाईको संचालनमा गरेको कार्यक्रमको सभापतित्व लायन्स क्लब अफ पोखरा पेन्गुईनका अध्यक्ष दिपक भण्डारीले गरेका थिए । कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिदै अध्यक्ष भण्डारीले सहर भन्दा केही बाहिर आएर सहयोग गर्न पाउँदा खुसी लागेको बताए । महानगरपालिका भनिएपनि पनि बाटो घाटोको राम्रो बिकास नभएको, पिछडिएको क्षेत्र भएको अनुभुती आफूहरुले गरेको बताए । बितरण गरिएका बिरुवाहरुलाई संरक्षण गर्न र फेरी–फेरी अर्को कार्यक्रम यहाँ लिएर आउने प्रतिबद्धता व्यक्त गरे ।

59Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected