10Shares

पोखरा भ्यूज
टंकराज अधिकारी । अन्तर्रा्ष्ट्रिय रुपमा नै ख्याति कमाएको पोखराको महत्वपूर्ण धार्मिक एवम् पर्यटकीय स्थल हो विन्ध्यवासिनी मन्दिर ।
पोखराको मुख्य शक्तिपीठ विन्ध्यवासिनी मन्दिरको दर्शन गर्न दैनिक ७ सयदेखि १ हजार बढी भक्तजन आउने गरेको तथ्याङ्क छ । यद्यपि साताको दुई दिन अर्थात् मंगलबार र शनिबार भने अघिपछिको संख्यामा दर्शनार्थीको घुँइचो लाग्ने गरेको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तिर्थ श्रेष्ठले जानकारी दिनुभयो । ‘वडा दशैंको घटस्थापनादेखि पूर्णिमासम्म दैनिक दश हजार भन्दा बढीे श्रद्धालुहरू आउने गर्दछन्,’ सचिव श्रेष्ठले भन्नुभयो–‘त्यो बेला भक्तजनहरूलाई सहज ढंगले पूजा गर्ने वातावरण मिलाउन पनि हम्मेहम्मे हुन्छ ।’
श्रेष्ठका अनुसार विहान ५ बजेदेखि बेलुका ७ बजेसम्म मन्दिरमा दर्शनार्थीले दर्शन गर्ने गरेका छन् ।


मन्दिरको दर्शन गर्न भारतीय तिर्थालुहरू बढी आउने गरेको तथ्याङ्क छ । यद्यपि मन्दिरका दर्शनार्थीको अभिलेख राख्ने गरिएको छैन । दर्शनार्थीको दान र भेटीबाट विगत ३ बर्षदेखि यता पहिलेको तुलनामा निकै कम आम्दानी भएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव श्रेष्ठ बताउनु हुन्छ ।
वि.स. २०७३ सालअघि मन्दिरमा चढाइने भेटी र दानपत्रहरू पूजारीले नै लैजान्थे । तर भेटीघाटी व्यवस्थापन निर्देशिका, २०७३ लागूभएपछि मन्दिरको कोषमा जम्मा हुन थालेको हो । अहिले मन्दिरका पुजारी करारमा नियुक्त गरिएको छ ।
पुजारी करारमा मन्दिरमा २ सय ३५ वर्षपछि करारमा पुजारी नियुक्ति गरिएको छ । दर्शनार्थीले पूजाका क्रममा मन्दिरमा चढाएको भेटी र दानका सम्बन्धमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति र पुजारीबीच केही वर्षदेखिको विवाद समाधान गर्दै करारमा पुजारी राखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले धार्मिकस्थलको भेटी व्यवस्थापन निर्देशिका २०७३ लागू भएपछि विन्ध्यवासिनी मन्दिरका पुजारीलाई करारमा पदस्थापन गरिएको हो । यसअघि मन्दिरमा चढाइने भेटी र दानपत्रमा पुजारीको रजाँई थियो । तर निर्देशिका लागू भएपछि मन्दिरमा चढाइने सबै दक्षिण र उपहार पुजारीले लिने गरेकामा करारमा नियुक्ति गरे पश्चात् मन्दिरमा चढाएको भेटी र दान कोषमा आउन थालेको हो ।
विन्ध्यवासिनीप्रतिको जनआस्था


विश्वका कुनै पनि हिन्दू तथा बौद्ध धर्मालम्बीहरू नेपाल भ्रमणको क्रममा पोखरामा पाइला राख्ने वित्तिकै विन्ध्यवासिनी देवीको दर्शन गर्न पुगिहाल्छन् । यसले गर्दा विन्ध्यवासिनी देवी वास्तवमा विश्वकै हिन्दू तथा बौद्ध धर्मावलम्वीहरूको आस्थाको केन्द्र बनेको छ ।
मन्दिरका मुख्य पुजारी पौडेलका अनुसार अप्ठारो परेको अवस्था र मनको आकांक्षा पूरा गराउने शक्तिका रूपमा विन्ध्यवासिनी देवीलाई मानिन्छ । त्यसको प्रमाण मन्दिरमा देवीको नाउँमा अपर्ण गरिदै आएको राँगा, कुखुरा, हाँस, बोका आदिको वली तथा देवीको नाउँमा चढाइएका घण्टाहरूलाई पनि लिन सकिने वहाँको भनाइ छ ।
मन्दिरको स्थापना र नामाकरण
पोखरा मोहोरियाटोलको उच्च विन्दुमा अवस्थित विन्ध्यवासिनी मन्दिरको स्थापना वि.स. १८४५ साल अघि नै भएको मानिन्छ । तर यसको स्पष्ट तिथिमिति भने हालसम्म भेटिएको छैन । वि.स. १८४५ सालमा राजा सिद्धि नारायण शाहबाट जारी भएको सनदमा विन्ध्यवासिनी मन्दिरको स्थापना गरी गुठी समेत राखिएको लिखतबाट मन्दिरको स्थापना त्यसभन्दा अघि नै भएको पुष्टि हुन्छ । सो सनद अनुसारमा मन्दिरको पहिलो पुजारी भागिरथ पाध्या पौडेल हुनुहुन्थ्यो । वि सं १८४१ मा पाल्पाका चिन्तामणी बाणा मन्दिरमा पूजा गर्न आएपछि पौडेलका सन्तती महिधर पाध्या पौडेलले पुजारीमा आफुहरुको हकदावी हुनुपर्ने मागसहित मुद्दा हाले पछि कास्कीका तत्कालीन राजाले पौडेललाई नै पूजाआजाको जिम्मा दिएको सदनमा समेत उल्लेख गरिएको छ ।


पोखराको इतिहासको साक्षी जस्तै बनेको विन्ध्यवासिनी मन्दिर कसले र कहिले निर्माण ग¥यो भन्ने ठोस प्रमाण केही छैन । यद्यपि कास्कीका तत्कालीन राजा सिद्धिनाराण शाहबाट जारी सनद र पूजारीको अख्तियारी दिइएको सनद तथा लालमोहर पनि मन्दिरको स्थापना कहिले भएको हो भन्नेबारे केही उल्लेख गरिएको पाइदैंन ।
निकै ठूलो अग्लो ढिस्कामाथि निर्मित उक्त मन्दिर सामान्य गुम्बज शैलीमा बनाइएको छ । मन्दिरभित्र विन्ध्यवासिनी देवीको मूर्ति सहित अन्य देवदेवीका मन्दिर मूर्ति समेत स्थापना गरिएको छ । मन्दिरको स्थापनाका सम्बन्धमा अनेक किंवदन्ती र लोकोक्तिहरू पाइन्छन् । बह्मचारी निःशेषानन्दको ‘श्री विन्ध्यवासिनीको ऐतिहासिक परिचय सहित नेपाली स्तोत्र’ नामक पुस्तकका अनुसार, “कास्कीका राजा सिद्धिनारायण शाह चार धाम घुम्न भारत गएका रहेछन । चारै धाम घुमफिर गरी अन्त्यमा काशीको विश्वनाथ मन्दिरसँगै जोडिएको अन्नपूर्णाको मन्दिरमा पुगेछन । त्यस बेला दशैंको नौरथा रहेछ र मन्दिरमा देवी भागवत कथा वाचन र श्रवण भइरहेको रहेछ । सिद्धिनारायणले कथा सुनेपछि विन्ध्यवासिनीको दर्शन गर्न विन्ध्याचल जाने निधो गरेछन । उनी विन्ध्याचल गई देवीको आराधना गरी बसेछन । विन्ध्यवासिनीले त्यहाँका राजालाई सपनामा सिद्धिनारायणलाई उनको एउटा मूर्ति दिएर पठाउन अनुरोध गरिछन । त्यसपछि तिनले त्यही मूर्ति ल्याएर पोखरामा स्थापना गराएका हुन् । अर्को किंवदन्ती अनुसार, परापूर्व कालमा पोखरा जलमग्न हुँदा पानीको बीचमा एउटा ढिस्को रहेछ । विन्दुको रूपमा रहेको ढिस्कामाथि यी देवीको मन्दिर रहेकाले यिनलाई विन्ध्यवासिनी भनिएको हो । विन्ध्याचलबाट यहाँ ल्याइएको मान्यतामा यिनलाई विन्ध्यवासिनी भनिएको हो । विन्दुमा रहेकी देवी मान्दै यिनलाई यस्तो नाम दिइएको जनश्रुति पनि छ ।”
वास्तवमा पोखरावासीले विन्ध्यवासिनीलाई आफनी परमप्रिय देवी मान्दछन् । दशैंको समयमा मन्दिर क्षेत्रमा श्रद्धालुहरूको ठूलो जमघट हुने गर्दछ । अन्य अवसरमा पनि यहाँ धेरै भक्तजन पुग्ने गर्दछन । यिनलाई चाहेको कुरा पु¥याइदिने र आफना भक्तप्रति कृपादृष्टि राख्ने देवी मानिन्छ ।
मन्दिरका देवालय


विन्ध्यवासिनी मन्दिर गुम्बज शैलीमा सेतो रङको अष्टभुजाकार रहेको छ । तामाबाट बनाइएको गजुरमा सुनको जलप लगाएको छ । र, गजुरबाट तामाको श्रीवन्दी लतारिएको छ । मन्दिरको चारैतर्फ वि.सं १८९६ यताका विभिन्न मितिमा राखिएका घण्टा छन् । पित्तलको द्वारअघि राखिएका पित्तलबाटै निर्मित दुई सिंहका आकृतिले मन्दिरको शोभा बढाएको छ । मन्दिर परिसरमा गणेश मन्दिर, हनुमान मन्दिर, सरस्वती मन्दिर, राधाकृष्ण मन्दिर, शिव मन्दिर, नवग्रह तथा अष्टचिरञ्जीवी मन्दिर पनि छन् ।
मन्दिर परिसरमै विद्यापीठ
विन्ध्यवासिनी मन्दिर परिसरमा २०५१ सालदेखि विन्ध्यवासिनी वैदिक विद्याश्रम सञ्चालन गरिएको छ । वैदिक संस्कृतिको प्रचारप्रसार एवं सनातन धर्ममा आस्था राख्ने मानिसहरूलाई समस्त कर्मकाण्डसम्बन्धी ज्ञान गराई उनीहरुलाई कथा प्रवचनद्वारा संस्कृति, संस्कार र संस्कृतको जानकारी गराउन विद्यापीठ सञ्चालन गरिएको हो । विद्यापीठमा हाल ३० जना बटुकले अध्ययन गरिएको व्यवस्थापन समितिले बताएको छ ।
मन्दिर परिसरमा सञ्चालित विन्ध्यवासिनी गुरुकूल विद्याश्रमको स्थायी भवनका निर्माणकार्य सुरु गरिएको छ । पोखरा १८ अँधेरीकुनामा रहेकोे २५ रोपनीमा जग्गामा भवन निमार्ण हुँदै छ । हाल ६ देखि ९ सम्म सञ्चालमा आएको विद्याश्रमलाई केही वर्षभित्र १२ कक्षासम्म सञ्चालन गर्ने गरी तयारी गरिएको विन्ध्यावासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले बताउनुभयो ।
धार्मिक महोत्सवहरू
समितिले विभिन्न पर्वविशेषमा धार्मिक महोत्सव गर्ने थालनी गरेको छ । विशेषगरी वडादशैंको अवसरमा वि.स. २०६५ सालदेखि निरन्तर रूपमा नवदुर्गा महोत्सव गरिदैं आएको छ । वडादशैंमा मात्र होइन, वैदिक सनातन धर्म अन्र्तगत पर्ने समस्त चाड–पर्वहरूमा पनि विशेष पूर्जा अर्चना गरिन्छ । श्रावणमा महिनाभर शिवपूजनोत्सव, कृष्णजन्माष्टमीमा श्रीकृष्णजन्मोत्सव, गणेश चतुर्थीमा गणेश पूजनोत्सव र श्री स्वस्थानीपरमेश्वरी पूजनोत्सव महाशिवरात्रिमा शिवजीको, चैत्र राम नवमीमा श्रीरामको पूजन आदि गरी पर्वहरुलाई विशेष रुपमा मनाउने गरिएको छ ।
मन्दिरले चर्चेको जमिन र सामाजिक योगदान

कास्की जिल्लाको मध्यभागमा अवस्थित मन्दिरले चर्चेको जग्गा बाहेक २७ रोपनी क्षेत्रफलमा फैलिएको यो मन्दिर वरपरको समथरिलो भूभागबाट केही उच्च थुम्कोमा अवस्थित छ । थुम्कोमा रहेका कारण दर्शनार्थीलाई केही सिँढी चढेर उक्लनु पर्ने भएकाले हिँड्न नसक्ने दर्शनार्थीलाई परिवारजनले बोकेर पु¥याउने गरेका छन् ।
अपाङ्गलाई दर्शनका लागि मन्दिरसम्म पु¥याउन विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको पहलमा लक्ष्मी हाउस पोखराले लिफ्ट निमार्ण गरेको छ । समितिका सचिव तीर्थ श्रेष्ठले भन्नुभयो –“अपाङ्गताका कारण हिँडेर पुग्न नसक्ने दर्शनार्थीलाई लक्ष्य गरी लक्ष्मी हाउसबाट प्राप्त रु ८० लाख सहयोगबाट लिफ्ट निर्माण गरिएको हो” । यहाँबाट प्रकृतिलाई नियाल्न थप उचाइको भ्यूटावर पनि सँगसगै निर्माण गरिएको छ ।


श्रेष्ठका अनुसार दर्शनार्थी अशक्त, अपाङ, जेष्ठ नागरिकका लागि लिफ्ट निःशुल्क गरिएकोे अन्यको लागि नेपालीको लागि ५० र विदेशीको लागि १ सय लिने गरिएको छ । विन्ध्यवासिनी मन्दिर भ्यु टावरबाट विभिन्न ११ वटा हिम शिखर देख्न सकिन्छ । त्यस्तै अन्नपूर्ण प्रथम, अन्नपूर्ण दोस्रो, अन्नपूर्ण तेस्रो, अन्नपूर्ण चौथो, खाङसारकाङ, अन्नपूर्ण दक्षिण, माछापुच्छ«े, लमजुङ, घान्द्रुक हिउँचुली र मर्दी हिमाल यहाँबाट नाङ्गो आँखाले देख्न सकिन्छ ।
मन्दिर परिसरमा बाटिकाहरू निर्माण गरिएको छ । “मन्दिरलाई अझ व्यवस्थित बनाउने समितिको सोंच छ,” सचिव श्रेष्ठले भन्नुभयो –“मन्दिरप्रतिको आस्था तथा यसको बढ्दो आकर्षणलाई दृष्टिगत गरी यसलाई सुविधा सम्पन्न बनाउनुका साथै रात्रिकालीन समयमा पनि दर्शन एवम् घुमफिर गर्नसक्ने स्थलका रुपमा विकासको योजना अघि बढाएका छौं ।”
समितिको पहल एवम् समाजसेवी सुशील कुमार गोसेलीको सहयोगमा मन्दिर परिसरमा रु ४६ लाखको लागतमा अष्टभुजाकार कुण्डमा साढे चार फिट उचाइको शिवलिङ्ग, पूर्वबाट पश्चिम फर्केका पञ्चधारा, फलैंंचा लगायतका संरचनाको निर्माण गरिएको छ ।
प्राकृतिक चिकित्सालयको तयारी
पोखरा–१ स्थित गुठीबारी (गण्डकी प्रदेश सभा भवनसँगै) मा रहेको करिब २० रोपनी क्षेत्रफलको जग्गामा प्राकृतिक चिकित्सालय निर्माणको तयारी अन्तिम चरणमा पुगेको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको पहलमा गण्डकी प्रदेश सरकारले सो चिकित्सालय निर्माणार्थ बजेट विनियोजन गरी निमार्णले तिब्रता पाएको छ । करिब ५० शैयाबाट सुरु गरी २०० बेडसम्म पु¥याउने लक्ष्य लिइएको छ । समितिको पहलमा विन्ध्यवासिनी एम्बुलेन्स सेवा सञ्चालनमा आइरहेको छ भने यहाँ आउने विशिष्ट सन्त महन्तका लागि सन्त निवास तथा अतिथि गृह निर्माण गरिएको छ । त्यस्तै वृद्धवृद्धाका लागि छुट्टै डेकेयर सेन्टर समेत स्थापना गरिएको छ । करिब ६० जना वृद्धवृद्धाले सो सेवा उपभोग गरेको समितिले जानकारी दिएको छ । उनीहरुको लागि भजन कृतन, चियापान, खाजा ,स्वास्थ्य उपचार, मसाज मेसिन, जन्मोत्सवका साथै प्रत्येक महिना जिल्ला भित्र रहेका धार्मिक स्थलको भ्रमण गराइरहेको समितिका सचिव श्रेष्ठ बताउनु हुन्छ ।
विन्ध्यवासिनी मन्दिर परिसरमै कास्की जिल्लाको तीन सय वर्ष पुरानो प्रशासनिक भवन (माल अड्डा) लाई पुरानै कलात्मक स्वरुपमा पुरातत्व विभागले निर्माण गरिदिएको छ ।

 

10Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected