1Shares

पोखरा भ्यूज
२४ माघ, पोखरा । मित्रमिलन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पोखरा २३ का विष्णुप्रसाद भण्डारी सात लाख धरौटीमा छुटेका छन् । फरार अभियुक्तको सूचीमा रहेका भण्डारीलाई प्रहरीले सोमबार साँझ पोखरा ५ स्थित डेराबाट उनलाई प्रक्राउ गरी कास्की जिल्ला अदालतमा पेश गरेकोमा वुधबार भएको थुनछेकमा न्यायाधीश रामचन्द्र शर्माको इजलाशले ७ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश गरेको हो ।

भण्डारी पृथ्वीनाराण क्याम्पस पोखरामा सहप्राध्यापक समेत हुन् । उनले बयानमा आफू पनि मित्रमिलन सहरकारीको बचतकर्ता भएको र सहकारीबाट पीडित भएको व्यहोरा समेत वकपत्र गरेका छन् ।

भण्डारीमाथि सहकारीका पदाधिकारीसँगको मिलेमतोमा बचतकर्ताको रकम दुरुपयोग गरेको आरोप थियो । भण्डारीले भने आफूलाई जानकारी नै नदिइ कीर्ते गरेर फसाइएको बताउँदै आएका थिए ।

मित्रमिलन सहकारी ठगी प्रकरणमा ३३ जनालाई पक्राउ पुर्जी जारी भएकोमा ८ जना मात्र पक्राउ परेका छन् । तीमध्ये ६ जना पुर्पक्षका लागि थुनामा छन् भने भण्डारीसहित २ जना धरौटीमा रिहा भएका छन् । यसअघि पक्राउ परेका लेखा समिति संयोजक सूर्य अधिकारी धरौटीमा छुटेका थिए ।
सहकारीका अध्यक्ष रमण पौडेल, पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली, सहकारी सञ्चालक सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकार÷शेयर सदस्य राजु बराल, शेयर सदस्य बुद्धिसागर पौडेल यसअघि नै कारागार चलान भएका छन् ।

सहकारी ठडी प्रकरणमा पोखरा महानगरपालिका वडा नं. २१ का वडाध्यक्ष दीपक सुवेदी समेतका २५ जना आरोपी फरार छन् । प्रहरीले उनीहरुको खोजी गरिरहेको भए पनि अझै प्रक्राउ गर्न सकेको छैन भने केही फरार अभियुक्तहरु स्वयं अदालत उपस्थित हुने तयारीमा रहेको समाचार स्रोतको दावी छ । मित्रमिलन सहकारीका सञ्चालक समेतले करिब २७ करोड रकम अपचलन गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected