पोखरा । पत्रकारलाई कुट्नुपर्ने अभिव्यक्ति दिएका गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङ (दीपक मनाङे)माथि पत्रकारका संघ संस्थाले कारबाहीको माग गरेका छन् ।
संसदीय पत्रकार मञ्च गण्डकीले सोमबार कार्यवाहक मुख्यमन्त्री विन्दुकुमार थापालाई भेटेर ध्यानाकर्षणपत्र बुझाएको हो ।
‘उहाँले गर्दै आएका क्रियाकलाप लोकतान्त्रिक व्यवस्थाप्रतिको भद्दा मजाक हो भन्ने हाम्रो ठम्याइ छ । नैतिकताको आधारभूत सिद्धान्त समेत पालना नगरी, मन्त्रीले पदीय मर्यादाको ख्यालै नगरी भित्रीवस्त्र मात्र लगाएर मन्त्रालयको कुर्सीमा बस्नु आफै अशोभनीय कार्य हो,’ विज्ञप्तिमा भनिएको छ, ‘पदीय मर्यादाका साथमा नैतिक मूल्य र मान्यताका बारेमा मन्त्री आफै पनि सचेत हुनुपर्ने हो । त्यसका अतिरिक्त नेपाल सरकार र नेपालका कानुनलाई समेत आधार मानेर गण्डकी प्रदेश सरकारले मन्त्रिपरिषद्का सदस्यले पालना गर्नुपर्ने आचारसंहिता विसं २०७४ चैत १२ गते प्रदेश मन्त्रिपरिषदबाट जारी भएको यहाँ स्मरण गराउँदछौँ ।’
मनाङेले पत्रकारको नामै किटेर दिएको अभिव्यक्तिप्रति गण्डकी प्रदेश सरकारको धारणा मागिएको छ भने गुरुङलाई कारबाही गर्न गण्डकी प्रदेश सरकारसँग माग गरिएको छ । यसअघि आइतबार नै पत्रकार महासंघ, विभिन्न संघसंगठनले पनि आपत्ति जनाइसकेका छन् ।