पोखरा भ्यूज
काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले गत वैशाख महिनामा सञ्चालित कक्षा १२ को नतिजा शुक्रबार सार्वजनिक गरेको हो । परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
नियमिततर्फ तीन लाख ८५ हजार ६३२ सहभागी मध्ये दुई लाख ३ हजार ८४७ जना उत्तीर्ण भएका छन् । नतिजा अनुसार एक लाख ८७ हजार २१ जना विद्यार्थी फेल (नन ग्रेडेड) भएका छन् । त्यस्तै ग्रेडवृद्धितर्फ २०७८ र २०७९ सालको परीक्षार्थीमध्ये २८.२६ प्रतिशत उत्तीर्ण भएका छन् । गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा कुल चार लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी थिए ।
बोर्डले लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार परीक्षा सञ्चालन गर्दै आएको छ । जसमा प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक ल्याउनैपर्ने हुन्छ । ३५ प्रतिशत अंक भन्दा कम आउने विद्यार्थीको नतिजा एनजी आउँछ ।
नतिजामा ४ जिपिए ल्याउने विद्यार्थीको संख्या शून्य छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार सबैभन्दा बढी २.८१ देखि ३.२० जीपीए ल्याउने रहेका छन् । सबैभन्दा कम १.६१ देखि २.० जीपीए सम्म ल्याउने विद्यार्थी संख्या जम्मा १२ जना रहेका छन् ।
त्यस्तै २.०१–२.४० सम्म ल्याउने ८,२४०, २.४१–२.८० सम्म ल्याउने ६१,०३६, २.८१ देखि ३.२० सम्म ल्याउने ७८,०७५, ३.२१–३.६० सम्म ल्याउने ४६,८९३ विद्यार्थी छन् । त्यस्तै ३.६१–४.० जीपीए ल्याउने विद्यार्थीको संख्या ९५९१ छ ।
माध्यमिक शिक्षाका लागि २०७८ सालमा नै लेटर ग्रेडिङ निर्देशिका लागू भएको थियो । यस अघिसम्म कक्षा १२ को नतिजा मात्रै उक्त निर्देशिका अनुसार सार्वजनिक हुँदै आएको थियो ।