
पोखरा भ्यूज
पोखरा । पोखरामा आकस्मिक रूपमा दुई ठाउँमा आयोजित खुल्ला रक्तदानमा २१९ युनिट रगत संकलन भएको छ । पोखरास्थित लायन्स क्लबको आयोजनामा १३१ यूनिट र नेपाल रेडक्रस सोसाईटी पोखरा-१७, उपशाखा र डेभिजफल युवा क्लवद्धारा संयुक्त रुपमा छोरेपाटनमा आयोजित आकस्मिक खुल्ला रक्तदान कार्यक्रममा ८८ युनिट रगत संकलन भएको हो ।
बढ्दो डेङगु रोगको प्रकोपको कारण रगतको माग बढ्नु र चार्डपर्वमा रगत संकलन कम हुँदा पोखरामा यतिखेर रगतको अभाव हुँदै गएपछि नेपाल रेडक्रस सोसाईटी कास्कीको आव्हानमा अपरझट रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति डण्डराज शर्मा पौडेलले पहिलो रक्तदातालाई व्लड व्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गर्दै कास्की जिल्लामा बार्षिक ४० हजार भन्दा बढी युनिट रगतको आवश्यकता रहने गरेको जानकारी दिए । शाखाले पोखरा-८, श्रृजनाचोकमा ६ करोडको लागतमा अत्याधुनिक सुविधा सम्पन्न भौतिक संरचना तयार गरी रगत प्रशोधन र सुरक्षाका लागि आवश्यक प्रविधि समेतको व्यवस्थामा जुटेको बताउँदै पुण्य कार्यका लागि सवैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे ।
पोखरा-१७ का वडा अध्यक्ष राधिका शाही योगीले पछिल्लो समय रक्तदानको महत्व बढ्दा नयाँ रक्तदातामा समेत उत्साह थपिएको बताउँदै विपदका समयमा मानविय सेवामा जुट्न सम्पूणर्मा आव्हान गरिन् ।
नेपाल रेडक्रस सोसाईटी कास्कीका उपसभापति एवम् विपद् व्यवस्थापन समितिका सयोजक उर्मिला खड्काले रक्तदान जिवनदान, जिवनदान महादान भन्ने रेडक्रसको मुल नाराको महत्व माथि प्रकाश पार्दै सोमवार पोखरास्थित लायन्स क्लबले महेन्द्रपूलमा आयोजित आकम्मिक रक्तदानमा १३१ युनिट रगत संकलन भएको जानकारी दिईन् ।
रगतको अभावमा अस्पतालको वेडमा छटपटाई रहेका विरामीको पुर्नरजिवनको लागि एक दिन अगाडि मात्र तय गरिएको कार्यक्रममा सवै क्षेत्रको सहयोग र रक्तदाताको सहभागिताले उत्साहित तुल्याएको पोखरा-१७ उपशाखा सभापति हरिप्रसाद श्रेष्ठको भनाई छ ।
प्रादेशिक रक्त संचार केन्द्र कास्कीका प्रमुख अर्जुन ज्ञवाली लगायतको टिमको कार्यक्रममा प्राविधिक सहयोग रहेको थियो ।
कार्यक्रममा पोखरा १७ का जनप्रतिनिधि, पूर्व वडाअध्यक्ष तिर्थराज अधिकारी, सञ्चारकर्मी हरि बास्तोला, रेडक्रस सोसाईटी र युवा क्लवका पदाधिकारी तथा सदस्यहरु, प्रहरी चौकी छोरेपाटनका प्रमुख प्रहरी निरीक्षक सुर्यबहादुर थापा, गुप्तेश्वर गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बास्तोला लगायत सामाजिक व्यक्तित्वले रक्तदातालाई प्रमाणपत्र वितरण गरेका थिए ।








