
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवासबारे सामाजिक सञ्जालमा फैलिएका “पैसाको सुरूङ्ग” वा “जलेका नोट भेटिएको” जस्ता समाचारहरू कपोकल्पित र भ्रामक रहेको कांग्रेसले स्पष्ट पारेको छ।
देउवाका स्वकिय सचिव भानु देउवाले विहिवार जारी गरेको विज्ञप्तिमा भदौ २४ गते जेने–जी आन्दोलनका क्रममा देउवाको निवासमा भएको तोडफोड र आगजनीलाई कुत्सित नियतका समूहहरूले राजनीतिक लाभका लागि प्रयोग गर्न खोजेको उल्लेख छ।
विज्ञप्तिमा, विभिन्न भिडियो र तस्बिर सम्पादन गरेर सामाजिक सञ्जालमा प्रवाह गरिएका सामग्री असत्य रहेको दाबी गरिएको छ। साथै घरभित्र रहेको अन्डरग्राउण्ड ट्याङ्कीलाई पैसाको ट्याङ्की भनेर प्रचार गरिएको विषयमा पनि खण्डन गरिएको छ।
देउवाले आन्दोलनमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।










