0Shares

काठमाडौँ । नेपाली कांग्रेसभित्र महाधिवेशनको रूपरेखालाई लिएर बढ्दो बहसबीच दुवै पक्षले आ–आफ्नो शक्ति प्रदर्शन गर्न थालेका छन् । मङ्गलवार ‘विशेष महाधिवेशन पक्षधर’ ले राजधानीमा भेला गरी नेतृत्वमाथि दबाब सिर्जना गर्ने प्रयास गरेपछि ‘नियमित महाधिवेशन पक्षधर’ ले पनि त्यसको प्रतिउत्तरस्वरूप छुट्टै भेला बोलाएका छन् ।

नियमित महाधिवेशन पक्षधरले बिहीबार बिहान साढे ११ बजे गौशालास्थित अनुपम फुडल्याण्डमा विशेष भेला आयोजना गर्न लागेका छन् । उक्त भेला संस्थापन पक्ष र नेता डा. शेखर कोइराला नेतृत्वको इतर समूहका नेताहरूले संयुक्त रूपमा आह्वान गरेका हुन् ।

नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष तथा संविधानसभा सदस्य रञ्जित कर्णको नेतृत्वमा आयोजना हुने भेलामा कांग्रेस बागलुङका सभापति जित शेरचन, तरुण दलका पूर्वमहामन्त्री भुपेन्द्रजंग शाही, मनहरि श्रेष्ठ, बद्री अर्याल, बिजुला बर्मा, पुष्प शाही, लाओस राई, दीपक भट्टराई, शिव रिमाल, प्रेमिका रानामगर, भुवन भट्ट, विपिन अधिकारी र इन्दु शर्मा लगायतका नेता आयोजक रहेका छन्।

कर्ण, शाही, राई, भट्टराई, अर्याल, रिमाल र रानामगर डा. कोइराला समूहसँग नजिक छन् भने शेरचन, श्रेष्ठ र पुष्प शाही संस्थापन पक्षीय नेता मानिन्छन्। शेरचनले १४औँ महाधिवेशनमा नेता कृष्ण सिटौलाको प्यानलबाट बागलुङ सभापति पद जितेका थिए।

कांग्रेसमा पछिल्लो समय ‘विशेष’ कि ‘नियमित’ महाधिवेशन भन्ने विषयमा विवाद चर्कँदो छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनका पक्षमा उभिएका छन् भने संस्थापन पक्ष र डा. कोइराला समूह नियमित महाधिवेशनमा अडिएका छन्।

गत असोज २९ गते महामन्त्रीद्वयको अगुवाइमा नेता गुरुराज घिमिरेको नेतृत्वमा संकलित महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर पार्टी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको थियो। त्यसपछि पार्टी केन्द्रीय समिति बैठकमा विशेष र नियमित महाधिवेशनका फरक–फरक कार्यतालिका प्रस्तुत भए पनि कुनै ठोस निर्णय हुन सकेको छैन।

राजनीतिक विश्लेषकहरूको भनाइमा, दुवै धारले आ–आफ्नो पक्षमा जनमत र संगठनात्मक समर्थन देखाउने रणनीति अपनाएका छन्। पछिल्ला भेला त्यसैको ‘मूड टेस्ट’ र आगामी निर्णायक छलाङका रूपमा हेरिएको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected