
पोखरा । लायन्स क्लब अन्तर्राष्ट्रियको सदस्यता विस्तार अभियान ‘मिसन १.५’ लाई प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यसहित लायन्स जोन–५८ अन्तर्गतका क्लबहरूको संयुक्त जोन बैठक पोखरामा सम्पन्न भएको छ। एरिया–१२, रिजन–२५, जोन–५८ का तीनवटा क्लबहरूको सो बैठक शुक्रबार पोखरा लेकसाइडस्थित रोजमेरी किचनमा आयोजना गरिएको थियो।
जोन चेयरपर्सन विजया थापाको संयोजनमा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ पोखरा अर्पण, लायन्स क्लब अफ पोखरा समर्पित, लायन्स क्लब अफ पोखरा आधिखोला तथा लायन्स क्लब अफ पोखरा योगशालाका अध्यक्ष, पदाधिकारी र सदस्यहरूको सक्रिय सहभागिता रह्यो।
बैठकमा सहभागी क्लबका अध्यक्ष तथा पदाधिकारीहरूले हालसम्मका सेवा कार्यक्रम, प्रगतिका विवरण र आगामी योजनाबारे जानकारी प्रस्तुत गरे। पोखरा अर्पणकी अध्यक्ष अनामिका थापा, समर्पितकी अध्यक्ष बन्दना केसी, आधिखोलाकी अध्यक्ष सिता ठाडाराई, योगशालाकी प्रथम उपाध्यक्ष संगीता पराजुली तथा क्लब समर्पितकी सचिव सरु बेसलले आफ्ना-आफ्ना क्लबका गतिविधिबारे विस्तृत प्रगति प्रतिवेदन साझा गरे।
कार्यक्रम जोन चेयरपर्सन थापाको अध्यक्षतामा र डिष्ट्रिक्ट ३२५–आई, नेपालका डिष्ट्रिक्ट पिआरओ–इन–चिफ ऋषि गिरिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा डिष्ट्रिक्ट एडमिनिस्ट्रेटर टंकराज अधिकारी र युवराज खनाल, जिईटी को–अर्डिनेटर भावना बसेल, डिष्ट्रिक्ट को–अर्डिनेटर रेश्मा शेरचन अधिकारी र हिरा भण्डारी, डिष्ट्रिक्ट पिआरओ बिमला बसेल, एरिया को–अर्डिनेटर सन्त बहादुर लामिछाने, डिष्ट्रिक्ट अफिसर उर्मिला बस्नेत र सीता पौडेललगायत पदाधिकारीहरूको उपस्थिति थियो।
मुख्य अतिथि गिरिले दोस्रो जोन मिटिङ विशेषगरी सदस्यता विस्तार अभियानसँग सम्बन्धित रहेको उल्लेख गर्दै ‘मिसन १.५’ सफल बनाउन सबै क्लबहरूलाई सक्रिय भूमिका खेल्न आग्रह गरे।
उनले लायन्स क्लब विशुद्ध मानवीय सेवाको भावनामा स्थापित संस्था भएकाले उदाहरणीय सेवा कार्यक्रममार्फत समाजमा सकारात्मक प्रभाव पार्नुपर्नेमा जोड दिए।
“लायन्सको लक्ष्य ‘We Serve’ लाई जीवन्त बनाउन सामूहिक प्रयास र समुदायमुखी सेवा अनिवार्य छ,” उनले भने।
बैठकमा सहभागी डिष्ट्रिक्ट पदाधिकारीहरूले तीनवटै क्लबले समाजमा पुर्याइरहेको योगदानको प्रशंसा गर्दै क्लबहरूको निरन्तर प्रगतिका लागि शुभकामना व्यक्त गरे।








सम्बन्धित खवर
















