65Shares

भरतपुर, चितवन । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आर नेपालको दोस्रो क्याबिनेट बैठक शनिबार चितवनको क्षेत्रपुरस्थित दियालो फुडल्याण्डमा डिष्ट्रिक्ट गर्भनर नवराज सापकोटाको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ ।

डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी डा. गंगा सापकोटाका अनुसार करिब १ हजार ३०० भन्दा बढी लायन्स सदस्यहरूको उत्साहपूर्ण सहभागितामा सम्पन्न यो बैठक सेवा–प्रतिबद्धता, नेतृत्व क्षमता सुदृढीकरण र दीर्घकालीन रणनीतिक योजनासम्बन्धी महत्वपूर्ण निर्णयहरूका कारण आयोजनात्मक रूपमा अत्यन्त सफल रहेको दावी गरेका छन् ।                                   

लायन्स अन्तर्राष्ट्रियका निवर्तमान अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमका की–नोट स्पीकर नेपाल सरकारका पूर्व अर्थसचिव तथा पूर्व सूचना आयुक्त कृष्णहरि बास्कोटाले ‘सुशासन, नेतृत्व र सेवा संस्कृतिको विकास’ विषयमा प्रभावकारी प्रस्तुति दिए, जसले सहभागीहरूलाई संस्थागत उत्तरदायित्व र सुशासनबारे गहिरो दृष्टिकोण प्रदान गरेको थियो ।

कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद अर्यालले जेन्जी आन्दोलनका क्रममा प्रशासनिक सेवा प्रभावित भएको अवस्था तथा भौतिक क्षतिको विवरण प्रस्तुत गर्दै, संकटको घडीमा लायन्सले उपलब्ध गराएको अत्यावश्यक कम्प्युटर र उपकरण सहयोगप्रति विशेष आभार व्यक्त गरका थिए । अर्यालले आपत्–विपत्मा लायन्सले देखाएको तत्कालिन प्रतिक्रिया र सेवा ‘उत्कृष्ट उदाहरण’ भएको उल्लेख गर्दै समुदाय र प्रशासन दुवै त्यसबाट लाभान्वित भएको बताए ।

डिष्ट्रिक्ट ३२५ आर नेपालका डिष्ट्रिक्ट गर्भनर नवराज सापकोटाले संगठन सुदृढीकरणमा योगदान पुर्याउने डिष्ट्रिक्ट ३२५ आर नेपालका पूर्व डिष्ट्रिक्ट गर्भनरहरूलाई सम्मान गरेका थिए ।


शुभकामना मन्तव्य राख्दै लायन्स मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालका लायन्स म्यागेजिनका प्रधान सम्पादक तथा पूर्व डिष्ट्रिक्ट गर्भनर डिके ढुंगाना, निवर्तमान डिष्ट्रिक्ट गर्भनर दिनानाथ न्यौपाने, पूर्व डिष्ट्रिक्ट गर्भनर सिद्धार्थलाल  चुके, तथा द्वितीय भाइस डिष्ट्रिक्ट गर्भनर दीपेन्द्र प्रसाद खतिवडालगायत वक्ताहरूले सेवा अभियानमा सबैको प्रतिवद्धता र सक्रिय सहभागिताका लागि आभार प्रकट गरेका थिए ।

डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी डा. गंगा सापकोटाले डिष्ट्रिक्टका कार्यक्रम, परियोजना र सदस्य–विकाससम्बन्धी विस्तृत प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने क्याबिनेट ट्रेजरर विकास पौडेलले वित्तीय विवरण, खर्च पारदर्शिता तथा आगामी आर्थिक दिशानिर्देशनबारे स्पष्ट र प्रमाणिक प्रस्तुति दिएका थिए ।

डिष्ट्रिक्ट गर्भनर सापकोटाले संगठनको अनुशासन, निरन्तरता र सेवा संस्कृतिलाई सबल बनाउँदै डिष्ट्रिक्टको ‘एकता, सेवा र समर्पण’लाई डिष्ट्रिक्ट सञ्चालनको मूल आधार बनाइने प्रतिबद्धता व्यक्त गरका थिए ।  सापकोटाले यस वर्षलाई ‘हामी बनाउँछौँ–हाम्रो प्रशासनिक भवन’ भन्ने नारासहित सुरु गरिएको अभियानका बारेमा जानकारी दिँदै १८ महिनाभित्र अत्याधुनिक, सेवा–मैत्री प्रशासनिक भवन निर्माण पूरा गर्ने लक्ष्य राखिएको बताए । उनले यस अभियानका लागि लायन्स तथा लियो सदस्यहरूले चेक तथा नगद सहयोग निरन्तर प्रदान गरिरहेकाले निर्माण कार्यले गति पाएको उल्लेख गरे ।

गर्भनर सापकोटाद्धारा संगठन सुदृढीकरण र लायन्स अन्तर्राष्ट्रियको १.५ मोडेलअनुसार उत्कृष्ट सेवा प्रदान गर्ने सदस्यहरूलाई कार्यक्रममा, लायन्स अन्तर्राष्ट्रिय प्रेसिडेन्सी मेडल, लिडरशिप मेडल, डिष्ट्रिक्ट गर्भनर मेडल, सहित प्रशंसापत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा लायन्स क्लब अफ  नारायणगढ संगमचोक, नारायणी, गैडाकोट मौलकालिका, चितवन सौराहा, चितवन नवलपुर समृद्धि र नारायणी MJF मोडेल क्लब घोषित भई सम्मानबाट विभूषित भएका छन्।  यस उल्लेखनीय उपलब्धिका लागि सबै क्लब अध्यक्षहरू तथा समर्पित सदस्यहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै गभर्नर सापकोटाले तपाईंहरूको प्रतिबद्धता, सेवाभाव र सक्रिय योगदानले हाम्रो डिस्ट्रिक्टको गौरव र प्रतिष्ठा अझ उचो बनाएको बताए ।

65Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected