पोखराका युवा पत्रकार धनबहादुर गुरुङ (सुमन) ‘युवा पत्रकारिता पुरस्कार’बाट सम्मानित हुँदै
- November 18, 2025
- 1539

पोखरा। मेजर लक्ष्मी प्रसाद/हुमकुमारी गुरुङ एमबिओ–बिइएम टुजिआर युवा पत्रकारिता पुरस्कारबाट पोखराका क्रियाशिल युवा पत्रकार धनबहादुर गुरुङ (सुमन) लाई सम्मानित गरिने भएको छ। आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीको संयोजनमा पुरस्कार दाता मेजर लक्ष्मी प्रसाद र हुमकुमारी गुरुङको वैवाहिक वर्षगाँठको अवसरमा मंसिर ३ गते, बुधवार आयोजना हुने कार्यक्रममा गुरुङलाई यो पुरस्कार प्रदान गरिनेछ।
फोनिज कास्कीका सल्लाहकार हुमबहादुर तमुको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले सिफारिस गरेको नाम सोमबार बसेको फोनिज कास्की कार्यसमिति बैठकले अनुमोदन गरेको थियो। छनोट समितिमा फोनिज गण्डकी इन्चार्ज रुद्र श्रीस मगर, फोनिज गण्डकी अध्यक्ष खिमाकुमारी गुरुङ, फोनिज कास्की अध्यक्ष बिनु थापा मगर र सचिव देविका तामाङ सदस्य रहेका थिए।
सम्मानित हुन लागेका गुरुङले २०६९ सालमा रेडियो सराङकोटबाट कार्यक्रम प्रस्तोता र हिमचुली एफएमबाट प्राविधिकका रूपमा काम गरी सञ्चार क्षेत्रमा प्रवेश गरेका थिए। त्यसपछि उनले एफएम रेडियो, अनलाइन तथा पत्रपत्रिकामा सक्रिय रहेर पत्रकारिता गर्दै आएका छन्। हाल उनी समाधान दैनिक, एबिसी टिभी र राष्ट्रिय समाचार समिति (रासस) सँग आवद्ध छन्।
धनबहादुर गुरुङ हाल नेपाल पत्रकार महासंघ कास्कीमा सह–सचिव, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) गण्डकीमा उपाध्यक्ष, नेपाल प्रेस युनियन कास्कीमा सचिव र नेपाल फोटो पत्रकार संघ कास्कीमा सचिवका रूपमा सक्रिय छन्। उनले यसअघि खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार २०७९ बाट सम्मान प्राप्त गरिसकेका छन्।









