
काठमाडौँ — नेपाली काँग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिले आगामी मंसिर २९ गते राति १२ बजेदेखि सदस्यता नवीकरण प्रविष्ट गर्ने प्रणाली ‘लक’ गर्ने निर्णय गरेको छ। महासचिव गगन थापा संयोजकत्वमा बसेको समितिको बिहीबारको बैठकले उक्त निर्णय गरेको हो।
समिति सदस्य प्रकाश रसाइली ‘स्नेही’का अनुसार निर्धारित समयपछि जिल्लाले कुनै पनि नवीकरण प्रविष्टि गर्न नपाउनेछन्। हाल ७७ वटै जिल्ला सभापतिलाई ‘आईडी’ र ‘पासवर्ड’ उपलब्ध गराई नवीकरणको डाटा इन्ट्री कार्य चलिरहेको छ।
समितिले आगामी आइतबार पुनः बैठक बसेर विदेशस्थित जनसम्पर्क समितिहरूको क्रियाशील सदस्यता अवस्था तथा संबंधित प्रतिवेदनहरूको समीक्षा गरी थप निर्णय गर्ने तयारी गरेको छ।
यससँगै, समितिले यसअघि गरिएको परिपत्रअनुसार नयाँ क्रियाशील सदस्यता वितरण भएको–नभएकोबारे जानकारी संकलन गर्न केन्द्रीय कार्यालयका सात सहसचिवलाई खटाउने निर्णयसमेत गरेको छ।
रसाइलीका अनुसार, नयाँ क्रियाशील सदस्यता फारम २५–२५ प्रतिशत गरी दुई चरणमा पठाइसकेकाले यसको कार्यान्वयन स्थिति बुझ्न समिति र सचिवालय दुवैले निगरानी गर्नेछन्।






सम्बन्धित खवर















