हस्तकला तथा गार्मेन्ट मार्ट–२०८२ : स्वदेशी उत्पादनको पहिचानसहित पर्यटन प्रवर्द्धनमा एगाको पहल

47Shares
पोखरा, मंसिर २६। स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्दै पर्यटन बजारमा प्रभावकारी पहिचान स्थापित गर्ने उद्देश्यसहित ‘हस्तकला तथा गार्मेन्ट मार्ट–२०८२’ आयोजना हुने भएको छ।
नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयको आयोजनामा तथा एम्ब्रोइडरी एन्ड गार्मेन्ट एशोसिएसन (एगा) पोखराको सहआयोजनामा पुस १४ र १५ गते पोखरा–६, लेकसाइडमा मार्ट सञ्चालन हुने जानकारी शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत गराइएको हो।
‘स्वदेशी उत्पादन—हाम्रो पहिचान’ नारासहित २०६१ सालमा स्थापित एगा पोखराले हेम्प, अल्लो, सिस्नो, ऊन, केरा लगायतका प्राकृतिक रेशाबाट बनेका कपडा तथा स्मरणिका (सुभिनियर) सामग्रीलाई पर्यटकीय बजारमा स्थापित गर्न निरन्तर योगदान दिँदै आएको छ।

एम्ब्रोइडरी एन्ड गार्मेन्ट एशोसिएसन (एगा)का अध्यक्ष गोकर्ण लम्सालले हाते तानमा आधारित उत्पादनमार्फत नेपालका सांस्कृतिक, धार्मिक तथा भौगोलिक विशेषता विश्व समुदायसम्म पुर्याउँदै एगाले पोखरासहित समग्र नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको बताए । उनका अनुसार एगाले आफ्नो व्यापारिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रम पनि निरन्तर सञ्चालन गर्दै आएको छ।
नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय प्रमुख मणिराज लामिछानेले मार्टले स्थानीय उद्यमीलाई मुख्य बजारसँग जोड्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रमोशनका लागि एकीकृत प्लेटफर्म उपलब्ध गराउने र ग्रामीण अर्थतन्त्र सुदृढ गर्न सहयोग पुर्याउने अपेक्षा व्यक्त गरे।
कार्यक्रमका संयोजक सुरेन्द्र पौडेलले गण्डकी प्रदेशका कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, लमजुङ, नवलपुर र रुकुमपूर्वका उद्यमीहरूले हेम्प, अल्लो, ऊन लगायतका रेशाबाट बनेका विविध सामग्री प्रदर्शन गर्नेछन्। मार्टमा करिब १२ वटा स्टल रहनेछन् भने ४ वटा तानमार्फत प्रत्यक्ष बुनाइको प्रदर्शन गरिनेछ।
कार्यक्रमलाई आकर्षक बनाउन स्लाइड–प्रस्तुति, सांस्कृतिक प्रस्तुतिहरू र टक–शो समावेश गरिएको छ, जसमार्फत उद्यमशीलता, उत्पादनको गुणस्तर, बजार विस्तारको सम्भावना तथा नीतिगत आवश्यकता जस्ता मुद्दाहरूमा छलफल हुनेछ। मार्टमा विद्यार्थी, उद्योगी–व्यवसायी, नीति निर्माता, स्थानीय प्रतिनिधि, पर्यटक तथा सञ्चारकर्मीहरूको सहभागिता रहने एगाका सचिव माया सुवेदीले बताइन् ।
एगाका अध्यक्ष गोकर्ण लमसालको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव जमुना वर्षा शर्मा, पर्यटन विज्ञ दीपेन्द्र पहारीलगायत वक्ताहरूले मार्टले स्थानीय उत्पादनहरूको बजार विस्तारमा नयाँ अवसर सिर्जना गरेको बताएका थिए। सोही अवसरमा एगा मार्ट–२०८२ को लोगो पनि सार्वजनिक गरिएको थियो।
हस्तकला तथा गार्मेन्ट मार्ट–२०८२ मार्फत घरेलु तथा साना उद्यमीका उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्न, रोजगारी सिर्जना बढाउन र युवालाई वैदेशिक रोजगारतर्फ धकेलिने अवस्थालाई केही हदसम्म रोक्न सकिने अपेक्षा गरिएको छ। मार्टलाई सफल बनाउन सञ्चार माध्यम तथा सञ्चारकर्मीहरूको सक्रिय भूमिकाको आग्रह गरिएको छ।
47Shares






© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर















