1Shares

पोखरा। रेवान पोखराको आयोजनामा आगामी पुस १३ देखि हुने २७औं पोखरा सडक महोत्सवको सुरक्षा व्यवस्था अब कसिलो बनाइने भएको छ। यसका लागि आयोजकले कास्कीका विभिन्न सुरक्षा निकायका प्रमुखहरूसँग अन्र्तक्रियात्मक छलफल सम्पन्न गरेको छ।

अन्र्तक्रियामा सहभागिहरुले पोखरा सडक महोत्सव पोखराको पहिचानसंग जोडिएको प्रतिष्ठित कार्यक्रम भएकाले यसको सफलतामा सबै पक्ष समान रूपमा जुट्नुपर्नेमा जोड दिए। विशेषगरी सुरक्षा व्यवस्थापन महोत्सवको मुख्य पाटो भएकाले आफुहरूले जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता सुरक्षा निकायकर्मीहरूले व्यक्त गरे।

कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले महोत्सव २७औं संस्करणसम्म आइपुग्दा देखिएका सुरक्षा चुनौतीबारे जिज्ञासा राख्दै, विगतका वर्षहरूमा सुरक्षा व्यवस्थापन सन्तोषजनक रहेको बताइन्। उनले विगतबाट सिकेर यसपटक झनै सतर्क र चुस्त व्यवस्थापन गर्ने प्रशासन तयार रहेको उल्लेख गरिन्। “विगतको भन्दा यो वर्षको परिस्थितिझनै संवेदनशील छ। सुरक्षा व्यवस्थापनमा कुनै कसर बाँकी राखिँदैन,” उनले भनिन्।

अन्र्तक्रियामा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, शिव लम्साल, नेपाली सेना कृष्ण दल गण फुलबारीका प्रमुख सेनानी राजेन्द्र पुडासैनी, सशस्त्र प्रहरी बल कालीका गणका उपरिक्षक सुर्यप्रसाद तिमिल्सीना, राष्ट्रिय अनुसन्धान विभाग कास्कीका उप–अनुसन्धान निर्देशक मोहन बहादुर कुँवर, तथा वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरिक्षक नमराज भट्टराई लगायतका सहभागीले महोत्सवमा सुरक्षा प्रदान गर्दै कार्यक्रम सफल पार्न पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए।

यसअघि सडक महोत्सव सुरक्षा समिति संयोजक नरेश भट्टराईले आयोजकले अवलम्बन गर्ने सुरक्षा रणनीति प्रस्तुत गरेका थिए। लाखौं अवलोकनकर्ता आउने महोत्सवमा सुरक्षा चुनौती उच्च हुने उल्लेख गर्दै, उनले ट्राफिक व्यवस्थापन तथा महोत्सव अवधिभर लेकसाइडका बाहिरी तथा भित्री सडक प्रयोग सम्बन्धी जानकारी पनि दिए।

जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी नविन कार्कीले विगतमा पनि महोत्सव सुरक्षामा खटिएको अनुभव सुनाउँदै, फायर फाइटिङ, ट्राफिक व्यवस्थापन तथा भीडमा हुन सक्ने चोरी–चमारी जस्ता घटनाप्रति विशेष सतर्कता आवश्यक हुने बताए। नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणी राज लामिछाने ले महोत्सवको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसारमा सहयोग गर्ने प्रतिबद्धता जनाए।

रेवान पोखराका पूर्वाध्यक्ष गोपीबहादुर भट्टराईले सरकारी निकायले महोत्सवको प्रभावकारी अनुगमन गर्दै गलत क्रियाकलापमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरे। शितल सेक्युरिटी प्रालिका लोकेन्द्र अर्यालले निजी क्षेत्रबाट विगतमा अपनाइएका सुरक्षा उपायबारे जानकारी गराउँदै, यसपटक पनि सुरक्षा निकायसँग सहकार्य गर्दै रणनीति तय गरिने बताए। रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल ले महोत्सवमा कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा निकायसँग गहिरो समन्वय गरिने उल्लेख गरे। बैठकमा उठेका महत्वपूर्ण विषयहरूलाई गम्भीरतापूर्वक लागू गरिने पनि उनले बताए।

कार्यक्रममा रेवान पोखराका प्रथम उपाध्यक्ष तथा महोत्सव संयोजक बसन्त गौतम ले स्वागत मन्तव्य राख्दै महोत्सवका प्रमुख आकर्षणहरूबारे जानकारी गराए। महासचिव बीरेन्द्र शेरचन ले कार्यक्रम सञ्चालन गरेका थिए। महोत्सवका सह–संयोजक सुनिल भट्टराई, सुमन भट्टराई लगायतले कार्यक्रमका विभिन्न जिज्ञासाबारे जानकारी गराएका थिए।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected