0Shares

पोखरा, ६ चैत। होटल संघ पोखरा नेपालले २१औँ संस्करणको ‘फेवा नव वर्ष महोत्सव’को तयारीलाई तीव्रता दिएको छ। संघको हालै सम्पन्न बैठकले यही चैत २९ गतेदेखि वैशाख १ गतेसम्म लेकसाइड पोखरा क्षेत्रमा महोत्सव सञ्चालन गर्ने निर्णय गरेको हो।

पर्यटन, संस्कृति र स्थानीय खानालाई प्राथमिकतामा राख्दै हरेक वर्षझैँ यस वर्ष पनि महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष तथा महोत्सव संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए। तयारीलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिहरु गठन गरिएको उनले बताए। संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठ र द्वितीय उपाध्यक्ष गणेशराज पहारीलाई सह–संयोजकको जिम्मेवारी दिइएको छ।

पछिल्लो समय देखिएको ‘जेन–जी आन्दोलन’ तथा त्यसपछिको आम चुनावपछि आर्थिक गतिविधिलाई पुनः चलायमान बनाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा महोत्सवले टेवा पुर्‍याउने विश्वास संघले लिएको छ। अंग्रेजी नयाँ वर्षजस्तै नेपाली नयाँ वर्षलाई पनि भव्यताका साथ मनाउने परम्परालाई संस्थागत गर्दै फेवातालको संरक्षणबारे सकारात्मक सन्देश फैलाउने उद्देश्य पनि महोत्सवले बोकेको अध्यक्ष सुवेदीले बताए।

महोत्सवमा दोहोरी, गीत–संगीत, पप कन्सर्ट, नाचगानलगायत विविध मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिनेछन्। उद्घाटनअघि झाँकीसहितको र्याली निकालिने कार्यक्रम छ।

यसैबीच, महोत्सवको प्रचार–प्रसारलाई व्यापक बनाउन संघले चैत ९ गतेदेखि १३ गतेसम्म पूर्वी नेपालका विभिन्न शहरमा ‘जाउँ है पोखरा’ अभियान सञ्चालन गरी सहभागिताका लागि निमन्त्रणा दिने तयारी गरेको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected