
पोखरा, १५ असार । पोखरामा पटक पटक विरोध हुने ठाउँ हो याम्दी- हरिचोक सडक खण्ड । पोखरा १ र २५ जोड्ने बिचको भाग जौबारीमा वर्षौ भइसक्यो सडक स्तरोन्नती हुन लागेको छ । भूपी शेरचन राजमार्गअन्तर्गतको सेक्टर ३ को स्तरोन्नतिको काम चलिरहेको छ त्यो पनि राष्ट्रिय गौरवको योजना मध्य पहाडी लोकमार्गअन्तर्गतको । याम्दीको पुल र यता हरिचोकदेखीको उकालोसम्म चारलेनका चिल्ला सडक छन् । तर, २.२ किलोमिटर सडक भने कच्चीमात्र होइन, दुई पांग्रे सवारीका लागि त अभिषाप नै छ ।
यतिबेला किसानलाई धान रोप्ने चटारो छ । सबै किसान खेतमा पुग्ने बेलामा भने हेम्जाका किसान र सिम्पानीका स्थानीय भने सडकमा आउन बाध्य भएका छन् । पटक-पटक विरोध गर्दा समेत ठेकेदारले अटेरिपना देखाएपनि शनिबार हेम्जा र सिम्पानीका स्थानीयले राजमार्गमै धान रोपेका छन् । उनीहरुले सडक निर्माणमा ढिलासुस्ती गरेपछि विरोधस्वरुप धान रोप्दै, असारे भाका र भजनमा विरोध गरेका हुन् ।
०७९ साल साउनमा काठमाडौंको मोतिदाङ कन्स्ट्रक्सन सेवा प्रा.लि.ले सडक निर्माणको जिम्मा लिएको थियो । सुरुवातमा विद्युत, खानेपानीको बहाना देखाउँदै आएको उक्त कम्पनीले विभिन्न बहानावाजीमा काम ढिलामात्रै गरेको छैन प्रहरीकै सेटिङमा नदीजन्य पदार्थसमेत अवैद्य रुपमा विक्रि गर्दै आइरहेको थियो । स्थानीयले पटक-पटक क्रसरबाट सामान बाहिर विक्रि गर्न लग्दै गर्दा नियन्त्रणमा लिई प्रहरीलाई नै बुझाएका थिए । काममा ढिलासुस्ती भएपछि निर्माण कम्पनीलाई मध्यपहाडी लोकमार्ग आयोजना (पर्वत) ले बारम्बार काम गर्न निर्देशन दियो तर, मानेन । यता जिल्ला प्रशासन कार्यालयमा समेत दर्जन भन्दा बढी छलफल भयो, जब जब विरोध तब तब मात्रै काम अघि बढ्यो । विरोध बन्द भएपनि काम पनि बन्द भयो ।
स्थानीय विजय त्रिपाठीले विरोध विरोधमा मात्रै सिमित भएको र त्यसको कुनै प्रतिफल प्राप्त नभएको बताउँदै अबको विरोध सामान्य ठाने त्यसको जिम्मा ठेकेदारले लिनुपर्ने सुनाए ।











