पोखरा । पोखरा–२१ स्थित दोविल्लाघाटमा दाउरा हस्तान्तरण, तुलसी, विभिन्न प्रजातिका बोटबिरुवारोपण सहित डस्टबीन प्रदान गरिएको छ ।
सेतीनदी र स्थानीय फुस्रेखोलाको दोभानमा रहेको दोविल्लाघाट पोखरा महानगरको वडा नं १७, २१ र ३३ का बासिन्दाले घाटको रुपमा प्रयोग गर्दै आएका छन् ।
उक्त घाटमा बुधवार बाबा फ़ाउण्डेशन नेपाल, रोटरी क्लब अफ पोखरा पाराडाईज र दशनामी समाज कास्कीको संयुक्त आयोजना साथै लायन्स क्लब अफ पोखरा अभियानको आयोजनामा पनि बृक्षारोपण सहित डस्टबीन प्रदान गरिएको हो ।

दोविल्लाघाट संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष भरत रायमाझीलाई फ़ाउण्डेशनका सचिव टंकराजअधिकारी, रोटरी क्लबका अध्यक्ष देवेन्द्र पराजुली, दशनामी समाजकाका अध्यक्ष भूपेन्द्र गिरी र लायन्स क्लबअफ पोखरा अभियानका अध्यक्ष दिनेश भण्डारीले बोटबिरुवा र डस्टबीन हस्तान्तरण गरेका थिए ।
दोविल्लाघाट संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष भरत रायमाझीको अध्यक्षता पोखरा महानगरपालिका वडा नं. १४ र २१ का वडाध्यक्षद्वय बोधराज कार्की र दीपक सुबेदीको बिशेष उपस्थिति रहेको कार्यक्रममा तीनै वटा वडाका लब्धप्रतिष्ठित व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
सो अवसरमा दाउरा गोदामको उद्घाटन गरी समितिका अध्यक्ष रायमाझी र उहाँको परिवारका तर्फबाट दुवै वडाका वडाध्यक्षको रोहवरमा सिड मनिको रूपमा दोविल्लाघाट संरक्षण तथा व्यवस्थापन समितिलाई दाउरा हस्तान्तरण गरेका थिए। एउटा सब जलाउनका लागि समितिले दाउराको मूल्य ५ हजार ५ सय रूपैयाँ क़ायम गरेको छ ।
बोटविरुवा सहितको पार्क निर्माण गरी सो पार्क तथा घाट रहेको क्षेत्रलाई धार्मिक तथा सामाजिक रुपमा विकास गरेर पर्यटकीय स्थलका रुपमा अगाडि बढाउन दोविल्लाघाट क्षेत्रको संरक्षण गर्नका लागि पहल गरिएको व्यवस्थापन समितिका अध्यक्ष भरत रायमाझीले जानकारी दिए ।
समितिका अध्यक्ष रायमाझीका अनुसार घाट क्षेत्रमा सार्वजनिक उपयोगका लागि शौचालय, प्रतिक्षालय तथा शव जलाउनका लागि आवश्यक पर्ने दाउरा राख्नका लागि सुविधासम्पन्न भवन निर्माण गरिएको छ ।
कार्यक्रममा २१ का वडाध्यक्ष सुवेदी र १४ का वडाध्यक्ष कार्कीले सार्वजनिक जग्गाको संरक्षणमा सबैको साथ र सहयोग लिएर अगाडि बढ्ने बताउदै दोविल्लाघाटको संरक्षण र विकासका लागि वडाको तर्फबाट बिशेष पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

