२०८३ कार्तिक २९, आइतबार Sunday, November 15, 2026
खबर

गण्डकी कांग्रेसको नेतृत्वमा मेखलाल श्रेष्ठको दाबेदारी, महामन्त्रीमा गंगाधर पराजुलीको चर्चा

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नियमित महाधिवेशन पक्षधरले गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा गर्ने तय गरेसँगै प्रदेश नेतृत्वका लागि राजनीतिक सरगर्मी बढेको छ। अधिवेशनको मिति नजिकिँदै जाँदा सभापतिदेखि महामन्त्री र अन्य पदमा समेत आकांक्षीहरू सक्रिय हुन थालेका छन्। नेताहरू आन्तरिक छलफल, भेटघाट र प्रतिनिधिसँगको सम्पर्कमा जुट्न थालेपछि गण्डकी कांग्रेसमा नेतृत्व चयनको प्रतिस्पर्धा रोचक बन्दै गएको छ।

प्रदेश सभापतिका लागि वर्तमान उपसभापति एवं पूर्वमन्त्री मेखलाल श्रेष्ठ बलियो दाबेदारका रूपमा देखिएका छन्। अधिवेशनका मुख्य संयोजकसमेत रहेका श्रेष्ठले औपचारिक रूपमा उम्मेदवारी घोषणा नगरे पनि सभापति बन्ने आकांक्षासहित आन्तरिक तयारी अघि बढाएका छन्।

स्याङ्जाको राजनीतिबाट उदाएका श्रेष्ठसँग पार्टी संगठन र संसदीय राजनीतिमा लामो अनुभव छ। २०७४ सालको प्रदेशसभा निर्वाचनमा समानुपातिक प्रणालीबाट गण्डकी प्रदेशसभा सदस्य निर्वाचित भएका उनी २०७८ सालमा कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको प्रदेश सरकारमा सामाजिक विकासमन्त्री बनेका थिए।

कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सम्पन्न पहिलो गण्डकी प्रदेश अधिवेशनबाट उपसभापतिमा निर्वाचित श्रेष्ठ यसपटक प्रदेश कार्यसमितिको नेतृत्व सम्हाल्ने आकांक्षासहित अघि बढेका हुन्।

श्रेष्ठसँगै प्रदेश सभापतिका लागि अर्थमन्त्री जित शेरचन, पूर्वमन्त्री मणिभद्र कँडेल र पर्वतका पूर्वसचिव विश्व प्रसाईँको नाम पनि सम्भावित दाबेदारका रूपमा चर्चामा छ। यद्यपि, उनीहरूमध्ये कसैले पनि अहिलेसम्म आफ्नो उम्मेदवारीबारे औपचारिक धारणा सार्वजनिक गरेका छैनन्।

महामन्त्रीमा वरिष्ठ पत्रकार गंगाधर पराजुलीको चर्चा

प्रदेश सभापतिपछि अहिले सबैभन्दा बढी चासो महामन्त्री पदमा देखिएको छ। वरिष्ठ पत्रकार गंगाधर पराजुलीले महामन्त्री पदमा आकांक्षा देखाएसँगै उनको सम्भावित उम्मेदवारीले कांग्रेस वृत्तमा चर्चा पाउन थालेको छ। पार्टीका नेता तथा कार्यकर्ताले पत्रकारिता र सञ्चार क्षेत्रको अनुभवलाई संगठनमा उपयोग गर्न उनलाई महामन्त्रीको जिम्मेवारीमा अघि बढ्न सुझाव तथा आग्रह गरिरहेको बताइएको छ।

करिब ३५ वर्षदेखि निरन्तर पत्रकारितामा सक्रिय पराजुली पत्रकारिता तथा व्यवस्थापन विषयमा स्नातकोत्तर हुन्। उनले गोरखापत्र दैनिक, कान्तिपुर दैनिक, नेपाल टेलिभिजन, नेपाल समाचारपत्रलगायत राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यममा काम गरिसकेका छन्।

पत्रकारिता क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका पराजुली नेपाल सरकारको न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष तथा राष्ट्रिय समाचार समिति (रासस) का सञ्चालक समिति सदस्यसमेत भइसकेका छन्। नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनको केन्द्रीय उपाध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका उनी पत्रकारिता क्षेत्रका अनुभवी व्यक्तित्वका रूपमा परिचित छन्।

पत्रकारिताका क्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित पराजुलीले विभिन्न मुलुकको भ्रमण गरी अन्तर्राष्ट्रिय अनुभवसमेत हासिल गरेका छन्। पत्रकारिता, सञ्चार क्षेत्रको नेतृत्व र लोकतान्त्रिक आन्दोलनसँग जोडिएको आफ्नो अनुभवलाई पार्टी संगठनमा उपयोग गर्ने उद्देश्यसहित उनी महामन्त्रीको आकांक्षीका रूपमा देखिएका हुन्।

पराजुलीको सम्भावित उम्मेदवारीले गण्डकी कांग्रेसको महामन्त्री पदको प्रतिस्पर्धालाई थप चासोपूर्ण बनाउने देखिएको छ। विशेषगरी पत्रकारिता क्षेत्रबाट पार्टी संगठनको नेतृत्वमा पुग्ने उनको प्रयासलाई नेता तथा कार्यकर्ताले कसरी लिन्छन् भन्ने विषय पनि चासोका साथ हेरिएको छ।

उपसभापति र सहमहामन्त्रीमा पनि प्रतिस्पर्धाको तयारी

सभापति र महामन्त्रीसँगै उपसभापति, सहमहामन्त्री तथा सदस्य पदमा समेत आकांक्षीहरू देखिन थालेका छन्। प्रदेश कार्यसमितिमा तीन उपसभापति, दुई महामन्त्री, पाँच सहमहामन्त्री (दुई जना मनोनीतसहित) र अन्य सदस्य रहने व्यवस्था रहेको छ। समग्रमा १०२ सदस्यीय प्रदेश कार्यसमिति चयन हुनेछ।

विभिन्न समूहका नेताहरू आन्तरिक छलफल, भेटघाट र प्रतिनिधिसँगको सम्पर्कमा जुटे पनि अधिकांशले अहिलेसम्म आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छैनन्।

विशेषगरी उपसभापति, पोखरा बाहिरबाट अर्को महामन्त्री तथा सहमहामन्त्री पदमा कसलाई अघि सार्ने भन्ने विषयमा विभिन्न समूहभित्र छलफल भइरहेको छ। क्षेत्रीय तथा जिल्ला तहका नेताहरूलाई समेट्दै सन्तुलित प्यानल निर्माण गर्ने रणनीतिमा नेताहरू जुट्न थालेका छन्।

अधिवेशनको मिति नजिकिँदै जाँदा उम्मेदवारको टुंगो लाग्ने र समूहगत प्यानल निर्माणको प्रक्रिया थप सक्रिय हुने अपेक्षा गरिएको छ।

१ हजार ६०१ प्रतिनिधिले छान्नेछन् गण्डकी कांग्रेसको नयाँ नेतृत्व

गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट १ हजार ६०१ जना प्रदेश प्रतिनिधि अधिवेशनमा सहभागी हुनेछन्। उनीहरूले प्रदेश कार्यसमितिको नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीको आगामी राजनीतिक दिशा, संगठनात्मक अवस्था र भावी रणनीतिबारे छलफल गर्नेछन्।

अधिवेशनलाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न आयोजकले सातवटा उपसमिति गठन गरेको छ। अधिवेशनमा सहभागी प्रतिनिधिका लागि खाना तथा खाजाको व्यवस्था आयोजक पक्षले गर्नेछ भने आवासको व्यवस्था प्रतिनिधि स्वयंले गर्नुपर्ने जनाइएको छ।

सभापतिमा मेखलाल श्रेष्ठको दाबेदारी, महामन्त्रीमा वरिष्ठ पत्रकार गंगाधर पराजुलीको आकांक्षा र अन्य पदमा देखिएको आन्तरिक प्रतिस्पर्धाले गण्डकी कांग्रेसको दोस्रो प्रदेश अधिवेशनलाई थप रोचक बनाएको छ। नेतृत्वका आकांक्षीहरू क्रमशः खुल्दै जाँदा आगामी अधिवेशन केवल नयाँ कार्यसमिति चयनमा मात्र सीमित नभई गण्डकी कांग्रेसभित्रको शक्ति सन्तुलन र भावी राजनीतिक दिशासमेत निर्धारण गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

Read more

देउवा नेतृत्व कांग्रेसको १५औँ महाधिवेशनका लागि कास्कीबाट पुराना नेता र युवासहित प्रतिनिधि चयन

पोखरा । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनका लागि कास्कीका तीनवटै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वको समूहबाट नियमित…

समाज कल्याण समितिको अध्यक्षमा पुनः राजेन्द्रबहादुर कार्की निर्विरोध निर्वाचित

पोखरा । ‘सामाजिक उत्तरदायित्व हाम्रो जिम्मेवारी’ भन्ने मूलमन्त्रका साथ स्थापित समाज कल्याण समिति कास्कीको अध्यक्षमा राजेन्द्रबहादुर कार्की पुनः निर्विरोध निर्वाचित भएका छन् । शनिबार पोखरा-१०, काजीपोखरीस्थित सभा हलमा…

रत्न मन्दिर र हिमागृह लिजमा नदिन जिससको आग्रह

पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने…

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…