
‘कहिलेकाहीँ मर्न काल आउनुपर्ने रहेछ । जेनजीहरूले मलाई बचाएका हुन् । फोटोमा देखिन्छ, ती बच्चाहरूले मलाई बचाएका हुन्,’ उनले भने, ‘तर जेनजीको नाममा ५० वर्षमाथिका व्यक्तिहरूले लाठो ल्याएर पिटेका हुन्, ढुंगा हाने । त्यसमा ठूलो षड्यन्त्र थियो ।’
पोखरा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा आफू र पत्नी डा. आरजु राणा देउवा मृत्युको मुखबाट फर्किएको बताएका छन् । आफूहरूमाथि भएको सांघातिक आक्रमणका क्रममा जेनजी युवाहरूले नै ज्यान जोगाउन सहयोग गरेको उनको भनाइ छ ।
शनिबार पोखरामा आयोजित आफू पक्षीय नेपाली कांग्रेसको गण्डकी प्रदेशस्तरीय दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै देउवाले आन्दोलनका क्रममा आफूहरूमाथि भएको आक्रमण र उद्धारको घटनाबारे खुलासा गरेका हुन् ।

उनले आफू र पत्नी आरजुमाथि कुटपिट हुँदा गम्भीर चोट लागेको र अहिले पनि शरीरमा घाउ रहेको बताए । जेनजी आन्दोलनका क्रममा जेनजी युवाहरूले आफूलाई बचाएको तर आन्दोलनको नाममा अन्य व्यक्तिहरूले लाठो र ढुंगामुढा गरेको उनको आरोप थियो ।
‘कहिलेकाहीँ मर्न काल आउनुपर्ने रहेछ । जेनजीहरूले मलाई बचाएका हुन् । फोटोमा देखिन्छ, ती बच्चाहरूले मलाई बचाएका हुन्,’ उनले भने, ‘तर जेनजीको नाममा ५० वर्षमाथिका व्यक्तिहरूले लाठो ल्याएर पिटेका हुन्, ढुंगा हाने । त्यसमा ठूलो षड्यन्त्र थियो ।’
देउवाका अनुसार घटनापछि नेपाली सेनाले उद्धारका लागि हेलिकोप्टर पठाएको थियो । तर, अवतरण गर्न नदिइएपछि सेनाको गाडीमार्फत आफूहरूलाई क्याम्पमा लगिएको र त्यहीँ उपचार पाएपछि ज्यान जोगिएको उनले बताए ।
‘आरजु र मलाई मारिसकेका थिए, हामी बाँचेका हौँ । अहिलेसम्म घाउ परेको छ । सेनाले हेलिकोप्टरसमेत पठाएको थियो, तर ल्यान्ड गर्न दिएनन् । पछि आर्मीले गाडी पठाएर क्याम्पमा लग्यो, त्यहीँ उपचार भएर हामी बाँचेका हौँ,’ उनले भने ।

आन्दोलनका क्रममा राजनीतिक नेताहरूका निवास तथा नेपाली कांग्रेसका पार्टी कार्यालयमा भएका आक्रमणप्रति पनि देउवाले असन्तुष्टि जनाए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र मन्त्रीसमेत रहेका व्यक्तिहरूमाथि भएको आक्रमणका अतिरिक्त कांग्रेसका दिवंगत नेताहरूसँग सम्बन्धित घर तथा आश्रममा समेत तोडफोड र आगजनी भएको उनले बताए ।
उनले बीपी कोइरालाका पिता कृष्णप्रसाद कोइरालासँग सम्बन्धित घर, गणेशमान सिंहको निवास तथा कृष्णप्रसाद भट्टराईको आश्रममा भएको आक्रमणलाई कांग्रेसविरुद्धको षड्यन्त्रका रूपमा व्याख्या गरे ।
‘ओली प्रधानमन्त्री हुनुहुन्थ्यो, मेरी श्रीमती मन्त्री थिइन्, मलाई र गृहमन्त्री रमेश लेखकलाई हान्यो ठिकै छ । कृष्णप्रसाद भट्टराईको आश्रममा किन हानेको ? बीपीको बाबुको घरमा हाने, गणेशमान सिंहको घर हाने,’ उनले भने, ‘देशभरि हाम्रो पार्टीको कार्यालयमा हानियो । यो कांग्रेसको खिलाफको षड्यन्त्र हो भन्ने बुझ्नुपर्छ ।’
यस क्रममा देउवाले आफूविरुद्ध आक्रमण गर्नुपर्ने अभिव्यक्ति दिने व्यक्तिहरूलाई समेत पार्टीको टिकट वितरण गरिएको भन्दै महामन्त्री गगन थापामाथि आरोप लगाए । आफूलाई मार्नुपर्ने र निवासमा आक्रमण गर्नुपर्ने भन्नेहरूलाई टिकट दिइएको उनको दाबी थियो ।
कांग्रेसभित्रको महाधिवेशन विवादबारे बोल्दै देउवाले विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाए । विशेष महाधिवेशनका लागि ४० प्रतिशत प्रतिनिधिको हस्ताक्षर आवश्यक पर्ने र त्यसको आधिकारिकता परीक्षण हुनुपर्ने उनको तर्क थियो ।
‘विशेष अधिवेशन गर्न पाइन्छ । सुवर्ण शमशेरले पनि विशेष अधिवेशन गर्नुभएको हो । तर ४० प्रतिशतले सहीछाप गर्नुपर्छ । त्यो कुरा सभापतिलाई लेखेर दिनुपर्छ । हस्ताक्षर ठीक हो कि होइन, सनाखत कसले गरेको छ ?’ उनले प्रश्न गरे ।
विशेष महाधिवेशनलाई पार्टी कब्जा गर्ने षड्यन्त्रको संज्ञा दिँदै त्यसको प्रतिवाद गर्नु आफ्नो कर्तव्य भएको देउवाले बताए । आफूले पार्टीबाट पर्याप्त अवसर र जिम्मेवारी पाइसकेको उल्लेख गर्दै अबको समय लोकतन्त्र, गणतन्त्र र राष्ट्रको हितमा समर्पित गर्ने उनको भनाइ थियो ।
‘मैले पाउनुपर्ने पाइसकेँ । मलाई केही चाहिएको छैन । पाँच पटक प्रधानमन्त्री भइसकेँ, अब देशलाई दिनुबाहेक केही छैन,’ उनले भने ।
देउवाले अब आफ्नो बाँकी समय लोकतन्त्रलाई थप मजबुत बनाउने र राष्ट्रका लागि योगदान गर्ने काममा खर्चिने प्रतिबद्धता व्यक्त गरे ।












