11Shares

पोखरा, २ पुस । पोखरा महानगरपालिकाको ६७ औँ स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ८० युनिट रगत सङ्कलन गरिएको छ । स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै महानगरपालिकाले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

रक्तदान कार्यक्रममा पोखरा महानगरपालिकाका कर्मचारी, नगर प्रहरी तथा स्वयंसेवी रक्तदाताहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले रगत किन्न वा उत्पादन गर्न नसकिने भएकाले आपतकालीन अवस्थामा हुने रगतको अभाव न्यूनीकरण गर्न सबैले सहयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

स्थापना दिवसकै अवसरमा महानगरपालिकाले शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने शिक्षक, विद्यार्थी तथा विद्यालयहरूलाई सम्मान गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४ जिपिए प्राप्त गर्ने ६७ जना विद्यार्थी र महानगरस्तरीय परीक्षा (कक्षा ८) मा ४ जिपिए हासिल गर्ने १२ जना विद्यार्थीलाई विशेष सम्मान प्रदान गरिएको हो ।

त्यसैगरी कक्षा ८ को परीक्षामा विषयगत रूपमा उत्कृष्ट औसत उपलब्धि हासिल गर्ने ३० जना तथा एसइईतर्फ ३० जना गरी जम्मा ६० जना उत्कृष्ट शिक्षकहरूलाई पनि सम्मान गरिएको छ ।

कक्षा ८ को परीक्षामा शतप्रतिशत नतिजा हासिल गर्ने १५ वटा विद्यालय, एसइईतर्फ ४९ वटा विद्यालय तथा सामुदायिक र संस्थागत विद्यालयतर्फ सबैभन्दा बढी जिपिए प्राप्त गर्ने एक–एक विद्यालयलाई समेत सम्मान गरिएको महानगरपालिकाले जनाएको छ ।

यसै अवसरमा पोखरा महानगरपालिका–१८ मा निर्माण हुन लागेको ‘सारङ्गी पार्क’को शिलान्याससमेत गरिएको छ । सांस्कृतिक पहिचान प्रवर्द्धन गर्ने उद्देश्यले पार्क निर्माण गर्न लागिएको जनाइएको छ ।

स्थापना दिवसका कार्यक्रमहरूले सामाजिक सेवा, शिक्षा र सांस्कृतिक संरक्षणलाई सँगसँगै अघि बढाउने पोखरा महानगरपालिकाको प्रतिबद्धता स्पष्ट पारेको सहभागीहरूले बताएका छन् ।

11Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected