
पोखरा। दोस्रो भारत–नेपाल टुरिज्म मिट कार्यक्रममा सहभागी हुन आएका भारतीय टुर अपरेटर तथा सोसल मिडियाकर्मीहरूको टोली मंगलबार साँझ पोखराको लेखनाथस्थित प्रमुख पर्यटकीय गन्तव्य बेगनास आइपुगेको छ ।
पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउँदै भारतीय तथा अन्य बाह्य पर्यटकको संख्या वृद्धि गर्ने उद्देश्यसहित पोखरा भ्रमण वर्ष २०२५, पोखरा पर्यटन परिषद्, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको सहकार्यमा बिहीबार पोखरामा आयोजना हुन लागेको टुरिज्म मिटको पूर्वसन्ध्यामा गन्तव्य प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको हो । सोही कार्यक्रमअन्तर्गत भारतीय टुर अपरेटर तथा सोसल मिडियाकर्मीहरूको टोली बेगनास पुगेको हो ।
मिटमा सहभागी हुन आएको १२ सदस्यीय भारतीय टोलीलाई सोमबार पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाको नेतृत्वमा सुनौली नाकामा स्वागत गरी स्थलमार्गबाट चितवन हुँदै सौराहा ल्याइएको थियो । गन्तव्य प्रवर्द्धन कार्यक्रमअन्तर्गत होटेल संघ नेपाल, चितवनको तर्फबाट टोलीको स्वागत गरिएको थियो । साथै पर्यटकीय साझेदारीका विषयमा अन्तरक्रिया गर्नुका साथै चितवनका प्रमुख पर्यटकीय स्थलहरूको अवलोकन गराइएको थियो ।
मंगलबार तनहुँको पर्यटकीय गन्तव्य बन्दीपुर हुँदै टोली बेगनास आइपुगेको पोखरा पर्यटन परिषद्का महासचिव सापकोटाले जानकारी दिए ।
साँझ टोली बेगनास तालमा प्रत्येक महिनाको १ गते आयोजना गरिने महाआरतीमा सहभागी हुनुका साथै अन्तरक्रिया कार्यक्रममा समेत सहभागी बनेको पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका सह–संयोजक तथा होटल तथा रेष्टुरेन्ट एसोसिएसन लेखनाथका पूर्व अध्यक्ष दामोदरभक्त थापाले जानकारी दिए । सो अवसरमा सह–संयोजक थापाले बेगनास क्षेत्रका प्रमुख पर्यटकीय गन्तव्यहरू समेटिएको भिडियो प्रस्तुति दिँदै यस क्षेत्रले इको–टुरिज्मको प्रचुर सम्भावना बोकेको उल्लेख गरे ।
कार्यक्रममा पोखरा महानगरपालिकाका आर्थिक महाशाखा प्रमुख मनहर कडरियाले भारतीय टुर अपरेटर तथा सोसल मिडियाकर्मीहरूको सहभागिताले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।
उत्तर प्रदेश पर्यटन विभागका सह–निर्देशक दिनेश कुमारले नेपाल–भारत पर्यटन प्रवर्द्धनका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका वरिष्ठ अधिकृत युवराज गुरुङले पोखरा तथा आसपासका क्षेत्रले अत्यधिक पर्यटकीय सम्भावना बोकेको उल्लेख गर्दै यसको प्रभावकारी प्रवर्द्धन आवश्यक रहेको धारणा राखेका थिए ।
महासचिव सापकोटाका अनुसार भारतीय प्रवर्द्धनात्मक टोली आज बिहान बेगनास क्षेत्रबाट पोखरा हुँदै पर्वत र बागलुङका पर्यटकीय गन्तव्यहरूको अवलोकनमा निस्कनेछ । टोली भोलि पोखराको पुम्दीकोट भ्रमण पश्चात पोखरा ग्रान्डमा आयोजना हुने टुरिज्म मिटमा सहभागी हुनेछ । मिटका क्रममा व्यवसायी–व्यवसायीबीच (बीटुबी) पर्यटकीय साझेदारी, भेटघाट तथा छलफल हुने कार्यक्रम रहेको छ ।






सम्बन्धित खवर
















