
पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने उक्त जग्गा लिजमा नदिन र ऐतिहासिक सम्पदाको संरक्षण गर्न नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहसँग आग्रह गरेको छ।
जिल्ला समन्वय समितिको शुक्रबार सम्पन्न ५४औँ बैठकले नेपाल ट्रष्टको नाममा रहेको उक्त जग्गा लिजमा दिने प्रक्रिया रोक्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय गरेको हो।
नेपाल ट्रष्टले फेवाताल किनारमा रहेका यी जग्गा तथा सम्पदा ३० वर्षका लागि लिजमा दिन लागेको भन्ने समाचार सार्वजनिक भएपछि समितिले चासो व्यक्त गरेको हो। उक्त क्षेत्र फेवातालको सीमा तथा मापदण्डभित्र समेत पर्ने भएकाले लिजमा दिने कार्य अघि नबढाउन समितिले आग्रह गरेको छ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण गर्नु राज्य र नागरिक सबैको दायित्व भएको बताए । ऐतिहासिक, प्राकृतिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्नुपर्नेमा उल्टै अतिक्रमण गर्ने, भाडामा लगाउने र दीर्घकालीन लिजमा दिने गतिविधिप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको उनले बताए ।
पौडेलले ऐतिहासिक महत्वका सम्पदालाई व्यावसायिक प्रयोजनमा लगाउनुभन्दा तिनको मौलिकता जोगाउँदै सार्वजनिक हितअनुकूल संरक्षण र व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।
बैठकले रत्न मन्दिर, हिमागृह तथा बाराहीघाटस्थित जग्गाको संरक्षण र व्यवस्थापनका लागि तीनै तहका सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको प्रमुख पौडेलले जानकारी दिए ।
जिल्ला समन्वय अधिकारी नवराज बरालका अनुसार समितिको पाँचवर्षे कार्यकालका गतिविधि अभिलेखीकरण गर्दै संस्थागत अनुभव र उपलब्धिलाई दस्तावेजका रूपमा सुरक्षित राख्ने उद्देश्यले स्मारिका प्रकाशन गर्न लागेको जानकारी दिए ।











