
‘पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ
काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध युवाहरू सडकमा उत्रिएका छन्। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा ऐक्यबद्धता जनाउँदै विभिन्न क्षेत्रका युवाहरूले शनिबार राजधानीको माइतीघर मण्डलामा कालो पोसाक लगाएर विरोध प्रदर्शन गरेका हुन्।
कालो पोसाकमा सजिएका प्रदर्शनकारीहरूले सञ्चारमाध्यममाथिको हस्तक्षेप, पत्रकार गिरफ्तारी, सञ्चारगृहमा छापा तथा पत्रकारलाई दबाब दिने गतिविधिविरुद्ध कडा सन्देश लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। उनीहरूले ‘सञ्चारगृहमाथिको आक्रमण किन? जवाफ खोइ?’, ‘कलम जनताको आवाज हो, सरकारको मुखपत्र होइन’ र ‘जर्नालिजम इज नट अ क्राइम’ जस्ता नारामार्फत स्वतन्त्र पत्रकारिताको पक्षमा आवाज उठाएका थिए।
प्रदर्शनकारीहरूले लोकतन्त्रमा सरकारलाई प्रश्न गर्नु नागरिकको अधिकार भएको उल्लेख गर्दै प्रश्न गर्ने पत्रकारमाथि दमन र धरपकड स्वीकार्य नहुने बताएका थिए। उनीहरूले ‘लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्ने सन्देशमार्फत सरकारलाई आफ्नो कार्यशैली सच्याउन आग्रह गरेका थिए।
प्रदर्शनमा सहभागी पुस्कर वास्तोलाका अनुसार विभिन्न पेसा र क्षेत्रमा क्रियाशील करिब दुई सय युवा स्वतःस्फूर्त रूपमा माइतीघरमा भेला भएका थिए। उनका अनुसार पत्रकारहरूलाई गिरफ्तार गर्ने, सञ्चारमाध्यममा छापा मार्ने, दबाब सिर्जना गर्ने तथा आलोचनात्मक प्रश्न उठाउने पत्रकार र सञ्चारगृहलाई निशाना बनाउने प्रवृत्तिविरुद्ध युवाहरू एकजुट भएका हुन्।

यस्ता गतिविधिले विधिको शासन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यतामाथि गम्भीर चुनौती खडा गर्ने प्रदर्शनकारीहरूको भनाइ थियो। उनीहरूले लोकतन्त्र र नागरिक अधिकार प्राप्तिका लागि विगतमा भएका ऐतिहासिक संघर्षबाट स्थापित अधिकार कुनै पनि बहानामा कुण्ठित गर्न नहुनेमा जोड दिएका थिए।
प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै युवाहरूले स्वतन्त्र पत्रकारितामाथि भइरहेका प्रत्यक्ष तथा अप्रत्यक्ष हस्तक्षेप तत्काल रोक्न सरकारसँग माग गरेका छन्। नागरिकका प्रश्नलाई शक्ति प्रदर्शन र दमनबाट दबाउने होइन, पारदर्शिता र जवाफदेहितामार्फत सम्बोधन गर्नुपर्ने उनीहरूको जोड थियो।
पत्रकारितामाथिको प्रहार केवल सञ्चारमाध्यममाथिको आक्रमण नभई नागरिकको सुसूचित हुने अधिकार र लोकतान्त्रिक व्यवस्थामाथिकै प्रहार भएको सन्देश दिँदै प्रदर्शनकारीहरूले स्वतन्त्र प्रेसको पक्षमा आफ्नो ऐक्यबद्धता प्रकट गरेका थिए।











