२०८३ मंसिर ४, शुक्रबार Friday, November 20, 2026
खबर

लायन्स क्लब अफ पोखराको स्वर्ण महोत्सवको तयारी पूरा, सभामुख अर्याल पोखरा

पोखरा । लायन्स क्लब अफ पोखराको ५०औँ स्थापना दिवस अर्थात् स्वर्ण महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । स्वर्ण महोत्सवको अवसरमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुन प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल पोखरा आएका छन् ।

सभामुख अर्यालको प्रमुख आतिथ्यतामा मंसिर ५ गते पोखरा इभेन्ट सेन्टरमा स्वर्ण महोत्सव विशेष समारोह आयोजना हुनेछ । कार्यक्रममा क्लबका अग्रज, संस्थापक सदस्य, पूर्वअध्यक्ष तथा सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तित्वलाई सम्मान गरिने क्लबका पूर्वअध्यक्ष दीपेन्द्र कोइरालाले जानकारी दिए ।

स्वर्ण महोत्सवको पूर्वसन्ध्यामा शुक्रबार पोखरामा बृहत् रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको छ । रक्तदान कार्यक्रमका संयोजक प्राडा बुद्धिबहादुर थापाका अनुसार कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् । निवर्तमान मल्टिपल काउन्सिल चेयरपर्सन मिलन थापालाई ब्लड ब्याग हस्तान्तरण गर्दै प्राडा थापाले कार्यक्रमको सुरुवात गरेका थिए ।

स्थापनाकालदेखि नै क्लबले शिक्षा, स्वास्थ्य, रक्तदान, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनलगायतका क्षेत्रमा निरन्तर सामाजिक सेवा गर्दै आएको प्राडा थापाले बताए । बाढीपहिरो र भूकम्पजस्ता विपद्का समयमा समेत क्लबले सक्दो सहयोग पुर्‍याउँदै आएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । उनले नेपाल रेडक्रस सोसाइटीको प्राविधिक टोलीलाई सहयोगका लागि धन्यवादसमेत दिए ।

क्लबका अध्यक्ष डा. माधव तिवारीले रक्तदानको महत्त्वमाथि प्रकाश पार्दै एकपटक गरिएको रक्तदानले चार जनासम्म बिरामीको जीवन बचाउन सहयोग पुग्ने बताए । ‘विश्वमा विज्ञानले धेरै कुरा आविष्कार गरे पनि रगतको विकल्प आविष्कार गर्न सकेको छैन,’ उनले भने । उनले स्वर्ण महोत्सवलाई विगतका योगदानको समीक्षा गर्ने र नयाँ पुस्तालाई सामाजिक सेवामा प्रेरित गर्ने अवसरका रूपमा लिन सबैलाई आग्रह गरे ।

स्वर्ण महोत्सव मूल समारोह समितिका संयोजक सुशीलकुमार गोशलीका अनुसार समारोहमा पाँच दशकको सामाजिक सेवा, मानवीय सहयोग र सामुदायिक योगदानको समीक्षा गरिनेछ । क्लबका संस्थापक सदस्य, पूर्वअध्यक्ष तथा स्थापनाकालदेखि निरन्तर सेवा गर्दै आएका व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम तय भएको उनले बताए । संस्थापक कोषाध्यक्षसमेत रहेका गोशलीलाई ‘लायन अफ द गोल्डेन जुब्ली अवार्ड’ बाट सम्मान गरिने भएको छ ।

समारोहमा विशेष स्वर्ण महोत्सव स्मारिकासमेत विमोचन गरिनेछ । स्मारिकामा क्लबले पाँच दशकसम्म गरेका सामाजिक सेवाका काम, उपलब्धि, ऐतिहासिक अभिलेख तथा लेखरचनालाई समेटिएको छ ।

स्वर्ण महोत्सवकै सन्दर्भ पारेर क्लबले सामाजिक सेवाका कामलाई थप अघि बढाएको छ । क्लबको आर्थिक सहयोगमा विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयमा आरोग्य भवन निर्माण गरी हस्तान्तरण गरिएको छ । त्यस्तै, चिकित्सालयलाई आरोग्य आश्रम हस्तान्तरण गर्नुका साथै तुलसीघाटमा शवदाहस्थल शिलान्याससमेत गरिएको छ ।

सन् १९७६ नोभेम्बर १० अर्थात् विसं २०३३ सालमा स्थापना भएको लायन्स क्लब अफ पोखरा नेपालको छैटौँ लायन्स क्लब हो । तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्रकै पहिलो लायन्स क्लबका रूपमा स्थापित यस क्लबको स्थापना अभियान लायन नवराज पटेल र उनको टोलीले अघि बढाएको थियो ।

सुरुमा पृथ्वीनारायण क्याम्पसका तत्कालीन प्रमुख तथा शिक्षासेवी जर्ज जोनलाई संस्थापक अध्यक्ष बनाउने प्रस्ताव गरिएको थियो । तर, शैक्षिक तथा प्रशासनिक जिम्मेवारीमा व्यस्त रहेकाले उनको नेतृत्वमा क्लब अघि बढ्न सकेन । त्यसपछि पोखराका व्यवसायी फणीन्द्रमान श्रेष्ठको अध्यक्षतामा क्लबको गतिविधि अघि बढाइएको थियो ।

स्थापनाकालदेखि नै शिक्षा, स्वास्थ्य र रक्तदानका क्षेत्रमा योगदान दिँदै आएको क्लबले वातावरण संरक्षण, छात्रवृत्ति, विपद् व्यवस्थापन, मानवीय सहायता तथा सामुदायिक विकासका क्षेत्रमा समेत उल्लेखनीय काम गर्दै आएको छ । पाँच दशक लामो सामाजिक सेवाको यात्रालाई स्मरण गर्दै क्लबले स्वर्ण महोत्सवमार्फत आगामी दिनमा पनि सेवामूलक गतिविधिलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ ।

Read more

जब विश्वास बिक्रीको साधन बन्छ

मनीष भुर्त्याल | पोखरा विश्वविद्यालय हामीमध्ये धेरैले आफूले विश्वास गर्ने व्यक्तिले कुनै सामान राम्रो छ भनेर सिफारिस गरेकै आधारमा खरिद गर्ने निर्णय गर्छौं। विशेषगरी सामाजिक सञ्जालमा लामो समयदेखि…

द्रुतमार्ग निर्माणमा अर्को उपलब्धि : महादेवटार सुरुङ छिचोलियो

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई/मधेश द्रुतमार्ग निर्माणमा अर्को महत्त्वपूर्ण उपलब्धि हासिल भएको छ। मकवानपुरस्थित महादेवटार सुरुङमार्गको बुधबार ‘ब्रेक थ्रु’ भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले एक समारोहबीच सुरुङको…

स्वास्थ्य पत्रकारिता पुरस्कारका लागि प्रतिभा छनोट समिति गठन

पोखरा । युआरएल फाउन्डेसनले स्थापना तथा सञ्चालन गर्दै आएको राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार प्रदान गर्न प्रतिभा छनोट समिति गठन गरेको छ । अग्रज पत्रकार केशवशरण लामिछानेको संयोजकत्वमा गठित…

परशु आधारभूतको हीरक जयन्ती पुस २६ मा, मिति परिवर्तनसँगै तयारी तीव्र

यसअघि पुस ९ गते हुने तय भएको कार्यक्रम १७ दिन पछि सारियो, ३ हजार वा सोभन्दा बढी सहयोग गर्ने चन्दादाताको नाम र रकम हीरक जयन्ती स्तम्भमा अंकित गरिने…

समाजसेवाको स्वर्णिम उदाहरण : लायन्स क्लबले बनायो आरोग्य भवन

पोखरा । सामाजिक सेवामा समर्पित लायन्स क्लब अफ पोखराले मानवीय सेवाको क्षेत्रमा अर्को महत्वपूर्ण योगदान दिएको छ । क्लबको २५ लाख रुपैयाँ आर्थिक सहयोगमा विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयमा निर्माण…

नेपाली जनसम्पर्क समिति क्यानडाको संयोजकमा टोष्टराज कार्की ‘बसन्त’ मनोनीत

काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले नेपाली जनसम्पर्क समिति क्यानडाको संयोजकमा टोष्टराज कार्की (वसन्त कार्की) लाई मनोनयन गरेको छ। महाधिवेशन तयारी समितिका संयोजक प्रा. डा.…