
काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले नेपाली जनसम्पर्क समिति क्यानडाको संयोजकमा टोष्टराज कार्की (वसन्त कार्की) लाई मनोनयन गरेको छ।
महाधिवेशन तयारी समितिका संयोजक प्रा. डा. शशांक कोइरालाले कार्तिक २६ गते निर्णय गर्दै कार्कीलाई संयोजकको जिम्मेवारी दिएका हुन्। यसअघि जनसम्पर्क समिति क्यानडाको महामन्त्रीको जिम्मेवारीमा रहेका कार्कीलाई संगठनको नेतृत्व गर्ने गरी नयाँ जिम्मेवारी प्रदान गरिएको हो।
समितिद्वारा जारी आधिकारिक मनोनयनपत्रमा यसअघि कार्तिक १२ गते संयोजक तोकिएका वीरेन्द्र राउतलाई जिम्मेवारीबाट हटाई कार्कीलाई नयाँ संयोजक नियुक्त गरिएको उल्लेख छ। क्यानडास्थित नेपाली जनसम्पर्क समितिका नेता तथा कार्यकर्ताहरूले कार्तिक १७ गते लिखित रूपमा गरेको अनुरोधका आधारमा नयाँ संयोजक तोकिएको पत्रमा जनाइएको छ।
नेपाली कांग्रेसको राष्ट्रिय भेलाबाट प्राप्त निर्देशनअनुसार विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूको अधिवेशन कार्तिक ३० गतेभित्र सम्पन्न गर्नुपर्नेछ। साथै, पार्टीको १५औँ केन्द्रीय महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा आयोजना हुने तय भएको छ।
महाधिवेशनको तयारी र विदेशस्थित जनसम्पर्क समितिहरूको संगठनात्मक गतिविधिलाई व्यवस्थित रूपमा अघि बढाउने उद्देश्यले कार्कीलाई संयोजकको जिम्मेवारी दिइएको मनोनयनपत्रमा उल्लेख छ।
लामो समयदेखि नेपाली कांग्रेसको संगठनमा सक्रिय रहँदै आएका कार्कीले यसअघि जनसम्पर्क समिति क्यानडाको महामन्त्रीका रूपमा काम गरिसकेका छन्। नयाँ जिम्मेवारीसँगै उनले क्यानडामा रहेका पार्टीसम्बद्ध नेता तथा कार्यकर्तालाई समेट्दै संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउने जिम्मेवारी पाएका छन्।













