२०८३ मंसिर ५, शनिबार Saturday, November 21, 2026
खबर

लायन्स क्लबको पाँच दशक : सम्मान, सेवा र सामाजिक उत्तरदायित्वको स्वर्णिम यात्रा

सभामुख अर्यालको जोड : निजी क्षेत्र बलियो र सुशासन कायम नभएसम्म समृद्धि सम्भव छैन

पोखरा । पाँच दशकअघि सामाजिक सेवाको उद्देश्यसहित पोखरामा सुरु भएको लायन्स अभियानले शिक्षा, स्वास्थ्य, मानवीय सहायता र सामुदायिक विकासमा पुर्‍याएको योगदानको स्मरण गर्दै लायन्स क्लब अफ पोखराले स्वर्ण महोत्सव मनाएको छ । स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा क्लबले संस्थापक, पूर्वअध्यक्ष र समाजसेवामा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गर्दै पाँच दशकको सेवायात्रालाई उत्सवका रूपमा मनाएको हो ।

स्वर्ण महोत्सव समारोहमा प्रतिनिधिसभाका सभामुख डिपी अर्यालले समाजसेवा र राजनीतिको साझा उद्देश्य नागरिकको जीवन सुरक्षित र समृद्ध बनाउनु रहेको बताए । उनले देशमा सुशासन कायम गर्न तथा निजी क्षेत्रलाई बलियो बनाउन समाजका सबै पक्षको साथ र चासो आवश्यक रहेको उल्लेख गरे ।

‘जबसम्म हामी निजी क्षेत्रलाई बलियो बनाउन सक्दैनौँ, तबसम्म देश धनी हुन सक्दैन’, उनले भने, ‘देशमा भ्रष्टाचार सधैँका लागि अन्त्य गर्न एउटा ठूलो सोचसहित अभियानमा जुटेको छु ।’

अर्यालले कानुन निर्माणदेखि सुशासन कायम गर्ने अभियानसम्म नागरिकको सहभागिता अपरिहार्य रहेको बताए । आफूले प्रयोग गर्ने कानुन कस्तो बन्दैछ भन्ने विषयमा हरेक नागरिक सचेत हुनुपर्ने उनको भनाइ थियो । देशको भूगोल, आवश्यकता र भावी पुस्ताको अपेक्षालाई सम्बोधन गर्ने कानुन निर्माणमा सबैको सुझाव आवश्यक रहेको उनले बताए ।

लायन्स अभियानमा विभिन्न क्षेत्रका व्यक्तिको सहभागिताले सामाजिक एकता र सेवाभावलाई बलियो बनाएको उल्लेख गर्दै उनले अग्रजहरूको योगदान नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत भएको बताए । आफू पनि सन् २०१६ देखि लायन्स परिवारमा जोडिएको स्मरण गर्दै उनले समाजसेवाबाट प्राप्त प्रेरणालाई राजनीतिक यात्रामा समेत उपयोग गरिरहेको बताए ।

स्वर्ण महोत्सवका अवसरमा क्लबका संस्थापक अध्यक्ष जर्ज जोन, संस्थापक कोषाध्यक्ष सुशीलकुमार गोशली तथा संस्थापक सदस्य प्रेमबहादुर श्रेष्ठ र मेहरमान श्रेष्ठलाई सम्मान गरिएको छ । संस्थापक कोषाध्यक्ष गोशलीलाई ‘लायन अफ द गोल्डेन जुब्ली’ अवार्ड प्रदान गरिएको छ ।

त्यसैगरी क्लबमा विशेष योगदान पुर्‍याउने योगेन्द्रलाल प्रधान, गणेशबहादुर श्रेष्ठ, प्राडा बुद्धिबहादुर थापा, चन्द्रकृष्ण कर्माचार्य र डम्बरबहादुर श्रेष्ठ सम्मानित भए । दीपेन्द्र कोइराला, कृष्णबहादुर जिसी, देवेन्द्र नकर्मी, शिव श्रेष्ठ र डा. माधव तिवारीलाई पनि सम्मान गरिएको छ । क्लब स्थापनादेखि हालसम्म नेतृत्व गरेका ४४ जना अध्यक्षलाई समेत सम्मान गरिएको थियो ।

क्लबले स्वर्ण महोत्सवलाई औपचारिक समारोहमा मात्र सीमित नराखी सामाजिक सेवाका काममार्फत पनि स्मरणीय बनाएको छ । विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयमा आरोग्य भवन निर्माण गरी हस्तान्तरण गरिएको छ भने तुलसी घाटमा शवदाहस्थलको शिलान्यास गरिएको छ । महोत्सवको अघिल्लो दिन रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको थियो ।

समारोहमा क्लबको पाँच दशक लामो यात्रा, सामाजिक योगदान, उपलब्धि, ऐतिहासिक अभिलेख र विभिन्न लेख समेटिएको स्वर्ण महोत्सव स्मारिका विमोचन गरिएको थियो । सभामुख अर्याल, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र लायन्सका अन्तर्राष्ट्रिय निर्देशक राजन लम्सालले संयुक्त रूपमा स्मारिका विमोचन गरेका थिए ।

सन् १९७६ नोभेम्बर १० अर्थात् विसं २०३३ सालमा स्थापना भएको लायन्स क्लब अफ पोखरा नेपालकै छैटौँ तथा तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्रकै पहिलो लायन्स क्लब हो । लायन नवराज पटेल र उनको टोलीको पहलमा स्थापना अभियान सुरु भएको थियो । सुरुमा पृथ्वीनारायण क्याम्पसका तत्कालीन प्रमुख तथा शिक्षासेवी जर्ज जोनलाई संस्थापक अध्यक्ष बनाउने प्रस्ताव गरिएको भए पनि उनको शैक्षिक तथा प्रशासनिक व्यस्तताका कारण व्यवसायी फणिन्द्रमान श्रेष्ठको अध्यक्षतामा क्लब स्थापना गरिएको थियो ।

स्थापनाकालदेखि नै क्लबले शिक्षा, स्वास्थ्य, रक्तदान, वातावरण संरक्षण, छात्रवृत्ति, विपद् व्यवस्थापन, मानवीय सहायता र सामुदायिक विकासका क्षेत्रमा काम गर्दै आएको छ ।

Read more

‘मृत्युको मुखबाट फर्कियौँ, जेनजीले नै बचाए’ : शेरबहादुर देउवा

‘कहिलेकाहीँ मर्न काल आउनुपर्ने रहेछ । जेनजीहरूले मलाई बचाएका हुन् । फोटोमा देखिन्छ, ती बच्चाहरूले मलाई बचाएका हुन्,’ उनले भने, ‘तर जेनजीको नाममा ५० वर्षमाथिका व्यक्तिहरूले लाठो ल्याएर…

लायन्स क्लब अफ पोखराको स्वर्ण महोत्सवको तयारी पूरा, सभामुख अर्याल पोखरा

पोखरा । लायन्स क्लब अफ पोखराको ५०औँ स्थापना दिवस अर्थात् स्वर्ण महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । स्वर्ण महोत्सवको अवसरमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा…

जब विश्वास बिक्रीको साधन बन्छ

मनीष भुर्त्याल | पोखरा विश्वविद्यालय हामीमध्ये धेरैले आफूले विश्वास गर्ने व्यक्तिले कुनै सामान राम्रो छ भनेर सिफारिस गरेकै आधारमा खरिद गर्ने निर्णय गर्छौं। विशेषगरी सामाजिक सञ्जालमा लामो समयदेखि…

द्रुतमार्ग निर्माणमा अर्को उपलब्धि : महादेवटार सुरुङ छिचोलियो

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई/मधेश द्रुतमार्ग निर्माणमा अर्को महत्त्वपूर्ण उपलब्धि हासिल भएको छ। मकवानपुरस्थित महादेवटार सुरुङमार्गको बुधबार ‘ब्रेक थ्रु’ भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले एक समारोहबीच सुरुङको…

स्वास्थ्य पत्रकारिता पुरस्कारका लागि प्रतिभा छनोट समिति गठन

पोखरा । युआरएल फाउन्डेसनले स्थापना तथा सञ्चालन गर्दै आएको राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार प्रदान गर्न प्रतिभा छनोट समिति गठन गरेको छ । अग्रज पत्रकार केशवशरण लामिछानेको संयोजकत्वमा गठित…

परशु आधारभूतको हीरक जयन्ती पुस २६ मा, मिति परिवर्तनसँगै तयारी तीव्र

यसअघि पुस ९ गते हुने तय भएको कार्यक्रम १७ दिन पछि सारियो, ३ हजार वा सोभन्दा बढी सहयोग गर्ने चन्दादाताको नाम र रकम हीरक जयन्ती स्तम्भमा अंकित गरिने…