
पोखरा । पोखरा महानगरपालिका–१६, बाटुलेचौरस्थित विन्ध्यवासिनी क्याम्पसको अध्यक्षमा शिक्षासेवी शोभामोहन पौडेल निर्विरोध निर्वाचित भएका छन् ।
क्याम्पस सञ्चालक समितिको शनिबार सम्पन्न पाँचौं अधिवेशनले पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । समितिको सदस्यमा नरनाथ भट्टराई, विनोद अधिकारी, हरिबहादुर बरुवाल, उषा बरुवाल, मीनबहादुर गुरुङ, मोहनकुमार सुनार, बलबहादुर श्रेष्ठ, प्रकाश तिमिल्सिना, टेकनाथ आचार्य र विष्णु नेपाली चयन भएका छन् । समितिको कार्यकाल तीन वर्षको हुनेछ ।
अधिवक्ता शालिकराम भट्टराईको संयोजकत्वमा गठित निर्वाचन समितिले निर्वाचन प्रक्रिया सम्पन्न गरेको थियो । समितिमा रुद्रबहादुर थापा, अग्निधर शर्मा, हिमलाल आचार्य र रुद्रनाथ देवकोटा सदस्य रहेका थिए ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै क्याम्पसका संस्थापक प्रमुख नरहरि भट्टराईले सामुदायिक क्याम्पसको संरक्षण र विकासका लागि सबै सरोकारवालाको ध्यान जानुपर्ने बताए । उनले आफ्नो जीवनको लामो समय शिक्षण पेसामा बिताएको अनुभवसमेत सुनाएका थिए ।
क्याम्पस प्रमुख सुमनकेशव पराजुलीले क्याम्पसका गतिविधि, आर्थिक विवरण तथा भावी कार्ययोजनाबारे जानकारी गराएका थिए । निवर्तमान अध्यक्ष दानबहादुर बानियाँले आफ्नो कार्यकालमा क्याम्पसको शैक्षिक गुणस्तर सुधार र आर्थिक कोष वृद्धि गर्न पहल गरिएको बताए ।
कार्यक्रममा क्याम्पसका सभा सदस्य शोभामोहन पौडेल, विन्ध्यवासिनी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक शिवप्रसाद सापकोटा र सञ्चालक समिति सदस्य मोहन सुनारले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष पौडेलले आफू निरन्तर शैक्षिक क्षेत्रको विकासमा सक्रिय रहेको उल्लेख गर्दै शिक्षामा राजनीतिक प्रभाव पर्न नहुने बताए । उनले क्याम्पसको शैक्षिक उन्नति र गुणस्तर अभिवृद्धिका लागि प्रतिबद्ध भएर काम गर्ने धारणा राखे ।
निवर्तमान अध्यक्ष दानबहादुर बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालक समिति सदस्य दुर्गा केसी थापाले स्वागत र क्याम्पसका लेखापाल भीमबहादुर गायकले सञ्चालन गरेका थिए ।












