55Shares

पोखरा । कास्कीमा नेकपा माओवादी केन्द्रका एक दर्जन नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।
माओवादी केन्द्रका प्रदेश कमिटी सदस्यसहित नेता-कार्यकर्ता चुनावको मुखैमा सोमबार एमालेमा प्रवेश गरेसँगै माओवादीलाई धक्का लागेको छ ।
एमाले गण्डकी प्रदेश संगठन कमिटीद्वारा सोमवार पोखरामा आयोजित कार्यक्रममा माओवादी प्रदेश कमिटी सदस्य राजु शर्मा तिमिल्सिना, पूर्व जिल्ला कमिटी सदस्य चुणामणी विक र भूपालबहादुर थापा, पोखरा १८ का उपाध्यक्ष नारायण तिमिल्सिना लगायत १२ जना एमाले प्रवेश गरेका हुन् ।
उनीहरुलाई एमाले संगठन विभाग प्रमुख खगराज अधिकारी, प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा, पोलिटव्युरो सदस्य सीता गिरी ओली, केन्द्रीय सदस्य कृष्ण थापालगायतका नेताहरूले स्वागत गरेका थिए ।
कार्यक्रममा बोल्दै नवप्रवेशी राजु तिमिल्सिनाले अहिले निश्चित नेता तथा कार्यकर्ताले ढोका खोलेको र आगामी दिनमा धेरै भन्दा धेरै नेता तथा कार्यकर्ता प्रवेश गरी घर उज्यालो बनाउने बताए ।
यसैविच कुनै पनि दलमा खुलेर नलागेका दुई जना सामाजिक अभियन्ताले पनि एमाले रोजेका छन् । हिमालय क्लब पोखरा १६ का अध्यक्ष मोहन थापा र सोही क्लबका संस्थापक अध्यक्ष तीर्थ तामाङ एमाले प्रवेश गरेका हुन् ।
एकीकृत समाजवादी कास्कीका सचिव होमबहादुर नेपाली पनि गत शनिबार एमाले प्रवेश गरेका थिए । मतदातामाझ माओवादीका प्रभावशाली मानिने प्रदेश कमिटी सदस्य तिमिल्सिनासहित नेता-कार्यकर्ता प्रवेश गरेपछि आगामी चुनावमा एमालेलाई झनै सहज हुने देखिन्छ ।
गत ३० वैशाखको चुनावमा तिमिल्सिना पोखरा १८ मा वडाध्यक्ष उम्मेदवार थिए । कांग्रेसका उम्मेदवार विजयी हुँदा तिमिल्सिनाले ७०२ मत पाएका थिए । त्यहाँ एमाले उम्मेदवार पुष्कलबहादुर थापा ३ मतले हारेका थिए ।
पोखरा १८ कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा पर्छ । त्यहाँ प्रतिनिधिसभामा गठबन्धनबाट माओवादीका उम्मेदवार छन् । तर, प्रभावशाली मानिने तिमिल्सिना वडा कमिटीका पदाधिकारीलगायत लिएर एमाले प्रवेश गरेसँगै एमालेलाई थप सहज भएको छ ।

कम्युनिष्ट, देशभक्त र राष्ट्रवादी शक्तिलाई एमालेमा गोलबन्द गर्ने योजना ः अधिकारी
पार्टी प्रवेश कार्यक्रममा बोल्दै एमाले संगठन विभाग प्रमुख तथा कास्की १ (क) बाट प्रदेश सभा सदस्य उम्मेदवार खगराज अधिकारीले सबै कम्युनिष्ट, देशभक्त र राष्ट्रवादी शक्तिलाई एमालेमा गोलबन्द गर्ने बताए । उनले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध र सुदृढ गर्ने अभियानमा लागेको जानकारी दिए ।
क्षणिक तथा केही समयको लागि सशस्त्र संघर्षको कार्यनीति सान्दर्भिक हुन सकेपनि मुल कार्यदिशा शान्तिपूणर् संघर्ष नै भएको नेता अधिकारीले उल्लेख गरे । ‘काग्रेसका नेता शेरबहादुर देउवाको सरकारको पालामा दीर्घकालिन सशस्त्र संघर्षको सुरुवात भएको थियो । सशस्त्र संघर्षले कम्युनिस्टहरुमा तिव्र धु्रवीकरण गर्‍यो,’उनले भने, ‘शेरबहादुर देउवालाई नेता मान्न सशस्त्र संघर्ष गरेको होइन । अहिले गठबन्धनका नाममा त्यहि भएको छ ।’
उनले सशस्त्र संघर्षका योद्धा, घाइते शहिदको योगदानको कदर हुन नसकेको दाबी गरे ।
पार्टीका गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले एमालेको भविष्य राम्रो भएकोले प्रवेशको लहर चलेको जानकारी दिए । उनले पार्टी प्रवेश अभियान मंसिर ४ सम्म चल्ने बताए ।
कार्यक्रममा पार्टीका गण्डकी प्रदेश कमिटीका कार्यालय सचिव माधव बास्तोला, साहित्यकार तीर्थ तामाङ, मोहन थापा लगायतले बोलेका थिए ।

55Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected