29Shares

पोखरा । नेपाली कांग्रेसका प्रवक्ता एवं चुनाव प्रचारप्रसार समितिका संयोजक डा प्रकाशशरण महतले पाँच दलीय गठबन्धन राजनीतिक आवश्यकता भएको बताएका छन् ।

खेलकुद क्षेत्र समन्वय प्रचारप्रसार उपसमिति गण्डकी प्रदेशले मंगलवार पोखरामा आयोजना गरेको छलफल कार्यक्रममा डा महतले कांग्रेस एक्लै चुनाव लडेरभन्दा गठबन्धनबाट लड्दा धेरै सिट जित्न सकिने भएकै कारण निर्वाचनमा पाँच दलीय गठबन्धनलाई रोजेर अगाडि बढेको बताए ।

‘कांग्रेस ठूलो पार्टी हो, अन्य दलका भन्दा धेरै मतदाता र नेता छन् । तर प्रत्यक्ष निर्वाचनमा थोरै मतले हारजित हुने गर्छ, एक सय ६५ निर्वाचन क्षेत्रमा उम्मेदवार दिएर थोरै सिट जित्नुभन्दा ९१ ठाउँमा उम्मेदवार दिएर धेरै सिट जित्ने सिद्धान्तअनुसार नै कांग्रेस अगाडि बढेको हो’, उनले भने, ‘सीमित नेताले मात्र टिकट पाएका छन्, चित्त सानो नगरी कांग्रेस तथा पाँच दलीय गठबन्धनअन्तर्गत निर्वाचनमा उम्मेदवार बनेका अन्य पार्टीका उम्मेदवारलाई जिताउन हरेक कांग्रेस कार्यकर्ता सक्रिय भएर लागौँ ।’

निर्वाचनमा एक भोटले पनि ठूलो महत्व राख्ने उल्लेख गर्दै डा महतले जनतामाझ प्रचारप्रसार गर्न नसक्दा कांग्रेस पछि परेको बताए ।

संविधानको रक्षा र राजनीतिक स्थायित्वका लागि पाँच दलीय गठबन्धन अगाडि बढेको उनको भनाइ थियो । प्राप्त उपलब्धिको रक्षा गर्दै यही संविधानलाई टेकेर समयको मागअनुसार संविधान संशोधन गर्ने कांग्रेसको बाटो रहेको डा महतले बताए ।

कांग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले कांग्रेसले मात्र लोकतन्त्रको रक्षा गर्न सक्ने उल्लेख गर्दै पार्टीमा युवा वर्ग र महिलालाई समेटेर अगाडि बढ्नुपर्ने बताएकी छन् । युवालाई निर्वाचनअघि, पछि निर्वाचनका वेलामा हुने सम्पूर्ण प्रक्रियामा समेट्न सक्यो भने निर्वाचनलाई समावेशी पहुँचयुक्त बनाउन सकिन्छ यसले लोकतन्त्रलाई थप बलियो बनाउने उनको भनाइ थियो ।

कांग्रेस केन्द्रीय सदस्य उमेशजङ्ग रायमाझीले प्रशस्त मात्रामा सम्भावना भएको देशमा शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेण्टी गर्न सक्यौँ भने देश समृद्धितर्फ अगाडि बढ्न समय नलाग्ने बताए ।

‘राजनीतिक बेथितिले हामीलाई कमजोर बनाएको छ, राजनीतिक व्यवस्थापन मिलाउन सक्यौँ भने समाज छिट्टै रुपान्तरण हुन्छ । अहिले पनि दूरदराजका नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउन सकेका छैनौँ । कांग्रेसले अब तिनै गरिब जनताको जीवनस्तर उठाउन आफ्ना योजना अघि सार्ने छ’, उनले भने ।

कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले कांग्रेसलाई बलियो बनाउन खेलकुद युवा  प्रजातन्त्र जोड़न सके लोकतन्त्र मजबुद हुने बिस्वास व्यक्त गरे  । उनले पाँच दलीय गठबन्धनको साझा लक्ष्य समृद्ध नेपाल निर्माणका लागि रहेको बताए ।

खेलकुद क्षेत्र समन्वय प्रचारप्रसार उपसमिति संयोजक कर्मछिरिङ शेर्पाको अध्यक्षतामा सम्पन्न भेटघाट तथा छलफल कार्यक्रममा सह-संयोजक शुभराम बस्नेत, महासमिति सदस्य विरेन्द्र नारायण बिजुक्छे, नेपाली कांग्रेस कास्कीका कार्यवाहक सभापति रामबाबु भण्डारी, आर्चरी संघका अध्यक्ष बसन्त थकाली, गण्डकी संयोजक रत्न श्रेष्ठ, कास्की क्षेत्र नं २ का संयोजक  प्रितम गुरूङ लगाएतले आ-आफ्नो भनाइ राखेका थिए ।

29Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected