
पोखरा भ्यूज
लेखनाथ, कास्की । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको गण्डकी क्षेत्रको पुरानो क्लब लायन्स क्लब अफ लेखनाथले २५औँ पदस्थापन कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा क्लबले नयाँ लायन्स क्लब, लायन्स क्लब अफ लेखनाथ अर्घौंको उद्घाटन गरेको छ ।
लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर एवं पदस्थापन अधिकृत चन्द्रकुमार केसीले लायन बर्ष २०२३/२४ का क्लब अध्यक्ष लगाएत पदाधिकारीलाई पदस्थापित गराउनु भएको थियो भने नयाँ क्लब लेखनाथ अर्घौंको क्लब ब्यानरमा हस्ताक्षर गरी क्लबको उद्घाटन गर्नु भएको थियो । नयाँ क्लबको संस्थापक अध्यक्षमा प्रकाशलाल श्रेष्ठ रहनु भएको छ ।
लायन बर्ष २०२२/२३ का अध्यक्ष तिलकशाली सापकोटाले अध्यक्षता गर्दै आफ्नो कार्यकालमा सम्पादन भएका कार्यक्रमबारे जानकारी दिँदै आफ्नो कार्यकाललाई सफल बनाउनका लागि सहयोग गर्ने सम्पूर्णप्रति आभार समेत व्यक्त गर्नु भएको थियो ।
वर्ष २०२३/२४ का अध्यक्ष रमनाथ पौडेलले आफ्नो कार्यभार ग्रहण गर्दै आफ्नो कार्यकालमा क्लब रजतबर्षमा प्रवेश गरेको जनाउ दिदै केही नयाँ रचनात्मक कार्यक्रमका साथ रजत बर्षसँगसँगै क्लबलाई अगाडि बढाउने प्रतिवद्धता जनाउनु भयो ।
स्थापनाको २५औं वर्षका लागि चुनिएको नयाँ टिमले नयाँ उत्साह र जाँगरका साथ कार्य गर्ने र सबैको साथ सहयोग मिल्ने अपेक्षा समेत ब्यक्त गर्दै हालसम्म क्लबले सम्पादन गरेका कार्य र भावी योजना प्रस्तुत गर्नु भएको थियो ।
मंगलवार पोखरा-२६, अर्घौंचोकस्थित रविमहलमा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्टका आईपिडिजी रामबहादुर बसेल, प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगाना, क्याविनेट सेक्रेटरी महेश पाण्डे, ट्रेजरर सन्तोष रावल लगाएत डिष्ट्रिक्टका सिनियर लायन्स लिडरहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।











