
पोखरा भ्यूज
२७ भदौ, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोगका (कोइका) को टोलीबीच पोखरामा भेटवार्ता भएको छ । मुख्यमन्त्री कार्यालयमा बुधबार दुई पक्षबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा कोइकाको ९ सदस्यीय टोली सहभागी भएको थियो भने प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री पाण्डेसहित सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडा, प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेत, गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष कृष्णचन्द्र देवकोटा, गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानका कार्यकारी निर्देशक सोमनाथ सापकोटालगायतको उपस्थिति थियो ।
दुई पक्षबीचको भेटवार्ताका क्रममा मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारको योजनामा कोइकाको साथ रहने विश्वास व्यक्त गरे । उनले प्रदेश सरकारले स्वास्थ्य, शिक्षा लगायतको क्षेत्रमा कोइकाको सहयोगको अपेक्षा गरेको बताएका थिए ।
गण्डकी प्रदेशको विकासका लागि कोरिया सरकार र कोइकासँगको साझेदारी महत्वपूर्ण हुने अपेक्षा प्रदेश सरकारको रहेको मुख्यमन्त्री पाण्डेले बताए । भेटघाटमा कोइकाका उपाध्यक्ष ली युन योङले कोरियन सरकार र कोइका गण्डकी प्रदेश सरकारसँग काम गर्न पाउँदा निकै खुसी रहेको भन्दै सहकार्य हुने जानकारी दिए ।











