1Shares

पोखरा भ्यूज
पोखरा, ७ माघ । पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौंडामा कृयाशिल नविन टोल विकास संस्थाले गोरखाका पर्यटकीय गन्तव्यहरूको प्रवद्र्धनात्मक भ्रमण सम्पन्न गरेको छ ।
संस्थाको. वार्षिक कार्यक्रम अन्तर्गत प्रत्येक वर्ष विभिन्न पर्यटकीय गन्तव्यहरूमा पुगी त्यहाँको प्रवद्र्धन गर्ने गरिएकोमा यस वर्ष गोरखाका धार्मिक एवम् ऐतिहासिक गन्तव्यलाई समेटिएको संस्थाका अध्यक्ष पुष्पराज पौडेलले जानकारी दिए ।
कार्यक्रम अन्तर्गत धार्मिक एवम् ऐतिहासिक महत्वका गोरखा कालिका मन्दिर, गोरखा दरबार, गोरखनाथ मन्दिर आदिको दर्शन एवम् अवलोकनका साथै नेपाल एकिकरणको इतिहाससँग प्रत्यक्ष जोडिएको लिगलिगकोटको प्रवद्र्धनात्मक भ्रमण गरिएको उनले बताए ।
प्रवद्र्धनात्मक भ्रमणमा संस्थामा आवद्ध ६९ जनाको सहभागिता रहेको सचिव मोहनराज बरालले जानकारी दिए ।
यस किसिमका कार्यक्रमले आन्तरिक पर्यटनको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको उनले बताए ।
नेपाल राज्यको एकिकरणको इतिहासमा गोरखा दरबार, लिगलिगकोट जस्ता स्थलहरूको विशिष्ट महत्व रहेको छ ।
गोरखा दरबार पृथ्वीनारायण शाहको इतिहाससँग प्रत्यक्ष सम्बन्धित छ । नेपाल एकीकरणको सुरुवातसँगै पृथ्वीनारायण शाहको जन्म भएको यो स्थानमा रहेको संग्रहालयमा दैनिक ठूलो संख्यामा पर्यटक आउने गरेका छन् ।
त्कालीन राजाहरूको राज्य सञ्चालनमा प्रयोग गरेका सामग्रीहरू देख्न पाइनु यहाँको विशिष्टता हो । शाहवंशीय राजा द्रव्य शाह हुँदै पृथ्वीनारायणसम्मका महत्वपूर्ण वस्तुहरू संग्रहालयमा राखिएको छ । गुरु गोरखनाथका पूजा सामग्री एवम् बाजागाजा, नेपाल एकीकरण हुँदा प्रयोग भएका हातहतियार, पृथ्वीनारायण शाहको पालामा दैनिक प्रयोग भएका भाँडाकुँडा, मानापाथी तथा विभिन्न कलात्मक सामग्री संग्रहालयमा देख्न पाइन्छ ।
आधुनिक नेपालको एकीकरण पूर्व पहिले बाइसे चौबिसे राज्य कालमा लिगलिगकोट चौबिसे राज्य अन्तर्गत पर्दथ्यो । इतिहास अनुसार मगर घलेहरूको उक्त राज्यमा दसैंको दिन दौडेर जसले जित्छ, त्यही व्यक्ति एक वर्षका लागि लिगलिगे वाङ (राजा) हुने चलन थियो ।
दलसुर घलेमगर बाह्रौं पटकसम्म लिगलिग राज्यको राजा बनेकोमा १३औं पटकको दौड भने द्रब्यशाहले जिते र त्यहाँको राजा भएको इतिहास छ ।
ऐतिहासिक, पुरातात्विक, पर्यटकीय तथा सांस्कृतिक महत्वको लिगलिगकोटमा नेपालको ठूलो झण्डा पर्यटकका लागि थप आकर्षण बनेको छ ।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected