
पोखरा भ्यूज
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयद्वारा गत चैत्र महिनामा लिइएको (कक्षा १० ले एसईईको नतिजा सार्वजनिक गरिएको छ । बिहीबार राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेपछि परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक गरेको हो । यद्यपि विद्यार्थी र अभिभावकले नतिजा भने थाहा पाउन सकेका छैनन् ।नतिजाअनुसार ४७.८६ प्रतिशत विद्यार्थी ग्रेडिङमा समावेश भएका छन् ।

वेबसाइटमा पूरै नतिजा अपलोड हुन भने केहीबेर लाग्ने भएकाले नतिजा थाहा पाउन नसकिएको हो । गत चैत १५ देखि २७ गतेसम्म सञ्चालित परीक्षामा ४ लाख ७५ हजार परीक्षार्थी सहभागी थिए । तीमध्ये ४ लाख ४९ हजार साधारण धारतर्फका विद्यार्थी हुन् ।

१५ हजार प्राविधिक धारतर्फका विद्यार्थी छन् । करिब ८ हजार विद्यार्थी परीक्षामा अनुपस्थित रहेको बोर्डले जनाएको छ ।
नयाँ पाठ्यक्रमअनुसार पहिलो पटक एसईई परीक्षा दिएका विद्यार्थीको लेटर ग्रेडिङ निर्देशिका–२०७८ को व्यवस्थाअनुसार नतिजा प्रकाशन भएको बोर्डले जनाएको छ । उक्त व्यवस्थाबमोजिम विद्यार्थीले प्रत्येक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ ।
हरेक विषयमा ७५ पूर्णाङ्कको लिखित परीक्षा सञ्चालन भएकाले न्यूनतम २७ अंक ल्याउनै पर्छ । उक्त अंक अर्थात् १.६ जीपीएभन्दा कम अंक ल्याउने विद्यार्थी ननग्रेडिङ )एनजी) मा पर्नेछन् । उनीहरूलाई बोर्डले ग्रेडसिटसमेत उपलब्ध गराउने छैन ।
प्रदेशगत नतिजा
कोशी प्रदेशबाट सहभागी कुल ७५ हजार ९८८ परीक्षार्थीमध्ये ३९ हजार ८९५ जना परीक्षार्थी अनुत्तीर्ण भएका छन् ।
यसैगरी मधेस प्रदेशबाट कुल ७९ हजार ५९२ परीक्षार्थीमध्ये ४२ हजार २८६ जना, बागमती प्रदेशबाट ९९ हजार ८७२ जना परीक्षार्थीमध्ये ३३ हजार ८४२ जना अनुत्तीर्ण भएका छन् ।
यसैगरी गण्डकी प्रदेशबाट कुल ४० हजार ५२६ जना परीक्षार्थीमध्ये २० हजार २७५ जना, लुम्बिनीबाट ८० हजार ३२७ जना परीक्षार्थी सहभागी भएकामा ४९ हजार २२४ जना फेल भएका छन् ।
यसैगरी कर्णालीबाट ३५ हजार ३४ जना परीक्षार्थीमध्ये २० हजार ३८० जना र सुदूरपश्चिमबाट ५३ हजार ४४६ जना परीक्षार्थी सहभागी हुँदा ३६ हजार ४१० जना अनुत्तीर्ण भएका छन् । परीक्षामा नियमिततर्फ ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थी सहभागी थिए ।
नतिजा केमा र कसरी हेर्ने
बोर्डले सार्वजनिक गरेको एसईईको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजासम्बन्धी विवरण विभिन्न वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने जनाएको छ ।
कार्यालयले जारी गरेको सूचना अनुसार नेपाल टेलिकममार्फत् १६०० कोड प्रयोग गरेर एसएमएस तथा आईभीआर गरेर हेर्न सकिने, स्विफ्ट टेक्नोलोजी प्रा।लि।मा ३४४५५ कोडमा, जानकी टेक्नोलोजी प्रालि ३५००१ मा कोडमा, इजी सर्भिस प्रालिमा ३४९४९ कोडमा र आकाश टेक प्रालिमा ३१००३ कोड राखेर एसएमएस गरेर नतिजासम्बन्धी विवरण हेर्न सकिन्छ।
त्यस्तैगरी राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकम, नेपाल टेलिकम, खल्ती, इसेवा, एनसेललगायतका वेबसाइटमार्फत् पनि नतिजा विवरण हेर्न सकिन्छ ।
#seeresult #seeresult2081 #pokharaviews.com


