6Shares

पोखरा भ्यूज
काठमाडौं । चितवनको सिमलताल बस दुर्घटनाको विषयमा अध्ययन गर्न गठन भएको कार्यदलले गृहमन्त्री रमेश लेखकसमक्ष अध्ययन प्रतिवेदन पेस गरेको छ । अध्ययन समितिका संयोजक छवि रिजालले मंगलबार गृहमन्त्री लेखकलाई अध्ययन प्रतिवेदन बुझाएका हुन् ।

गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले २८ असारमा चितवनको सिमलतालमा दुर्घटनामा दुई बससहितका यात्रु त्रिशुली नदीमा बेपत्ता हुने गरी भएको घटनाको अध्ययन गर्न समिति गठन भएको थियो । प्रतिवेदनमा दुर्घटनाको कारण र यस्ता दुर्घटना कम गर्न समेत सुझाव दिइएको छ ।

२८ असारको बिहान वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस सडकमाथिबाट आएको लेदो सहितको पहिरोले बगाउँदा त्रिशुली नदीमा खसेका थिए । दुवै बस र ४१ यात्रु अझै बेपत्ता छन् ।
अध्ययन समितिले दुर्घटना हुनुका ५ कारण औंल्याएको छ:

राजमार्गमाथिको ग्रामीण सडक

यो दुर्घटनाको मुख्य कारणको रुपमा मुग्लिन नारायणगढ सडकसँगै माथिल्लो क्षेत्रमा खनिएको ग्रामीण सडकलाई मानिएको छ । भिरालो पहाडी क्षेत्रमा उचित इन्जिनियरिङ तथा डिजाइन बिना सिमलताल–बाङ्गेसाल–डुम्रेगाउँ ग्रामीण सडक खनिएको र त्यसकै गेग्रान (डेब्रिज) बाढीले बगाएर ल्याएका कारण दुर्घटना भएको समितिले प्रतिवेदनमा औंल्याएको छ ।

ग्रामीण सडक खन्दा निस्केको माटो मुख्य राजमार्गभन्दा माथि नै छाडिएकाले बाढीले बगाएर राजमार्गमा ल्याएको छानबिन समितिले बताएको छ । सडक निर्माण गर्दा कट एण्ड फिल एप्रोचमा कार्य नगरी कंक्रिटबाट मात्र सडक बनाउँदा अत्याधिक मात्रामा निस्केको माटो सडक छेउको पाखामा त्यतिकै फ्याँकिएको पाइएको उल्लेख  छ ।

ईआईए बिना सडक निर्माण

भरतपुर महानगरपालिकाले विस्तार गरेको उक्त ग्रामीण सडक वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) बिना खनिएको समितिले बताएको छ । ग्रामीण सडक खन्दा वातावरणीय पक्षलाई ध्यान नदिइएको र यसैमा कमजोर भूगोल अत्याधिक स्लोप हुँदा पनि लेदोसहितको बाढीले बस त्रिशुलीमा खसालेको प्रतिवेदनमा उल्लेख छ ।

बिना पर्खाल सडक निर्माण

ग्रामीण सडकमा टेवा दिने किसिमले कुनै पर्खाल निर्माण नगर्दा वर्षाको समयमा पहिरो गएको र पहिरोको माटो बाढीले राजमार्गमा ल्याएको छानबिन समितिले बताएको छ । टेवा पर्खाल नलगाएका कारण ग्रामीण सडक भासिएर लेदोको स्रोत बनेको, उक्त लेदो बग्दै सिन्दुरे खोल्सा हुँदै मुग्लिन नारायणगढ सडकमा झरेको देखिएको समितिका संयोजक रिजालले बताए । उनका अनुसार सिन्दुरे खोल्सामा केही वर्ष पहिला बनाइएको चेक ड्याम तथा ग्याबिन वालले भार थाम्न नसक्दा बाढी सँगै आएको ठूलो परिमाणको लेदो, गेग्रानले सडक क्रस गर्दै गरेका सवारी साधनलाई धकेलेर त्रिशूलीमा खसालेको देखिन्छ ।

कल्भर्ट सफा नगर्दा सडक माथिबाट बग्यो लेदो

छानबिन समितिले सडक छेउबाट सिन्दुरे खोल्सीको पानी निकास हुने कल्भर्ट सफा नहुँदा सडकमाथिबाटै लेदो बगेको पनि औंल्याएको छ । ८ असारमा थुनिएको उक्त कल्भर्ट दुर्घटना हुने दिन २८ असारको बिहानसम्म पनि सफा नगरेको देखिएको समितिले उल्लेख गरेको छ । ८ असारमा थुनिएको कल्भर्ट समयमै सफा नगर्दा माथिबाट झरेको डेब्रिज एकै पटक मूल सडकमा आई सडक अवरोधसमेत गरेको प्रतिवेदनमा भनेको छ ।

एकीकृत सूचना प्रणाली नहुँनु

सडक सुरक्षासम्बन्धी एकीकृत सूचना प्रणालीको विकास नभएकाले सडकको अवस्थाबारे सुरक्षा निकाय र बस चालकलाई थाहा नभएको पनि समितिले उल्लेख गरेको छ । यदि एकीकृत सूचना प्रणाली भए भए सडकको अवस्थाबारे सुरक्षा निकाय र चालकलाई हुने र दुर्घटनाको अवस्था नआउने समितिको भनाइ छ ।त्यस्तै प्रतिवेदनमा जोखिमपूर्ण सडकमा ठूलो वर्षा भइरहेको र रातको समयमा सवारी चलाउँदा चालकले सुरक्षामा ख्याल नगरेको पाइएको उल्लेख गरिएको छ।

6Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected